विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको आवाज, माग र सरोकारलाई संस्थागत रूपमा सम्बोधन गर्न आफू लामो समयदेखि सक्रिय रहेको बताएका छन्। विराटनगरमा आयोजित युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलन सुरु हुनुअघि नै पार्टीभित्र युवाको भूमिकालाई सशक्त बनाउने प्रयास थालेको दाबी गरे।
उनका अनुसार युवाका मुद्दामा उनले कहिल्यै सम्झौता गरेका छैनन्। “युवाको माग र मुद्दामा मैले कुनै कञ्जुस्याइँ गरेको छैन,” उनले भने।
डा. कोइरालाले राजनीतिक संरचनामा युवाको सहभागिता बढाउन स्पष्ट खाका प्रस्तुत गर्दै युवालाई तीन तहमा वर्गीकरण गरी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखे। उनले केन्द्रीय तहमा २० प्रतिशत, प्रदेश तहमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको सहभागिता भए मात्र युवालाई स्वदेशमै अवसर दिन सकिने बताए। “त्यो मात्र सम्भव भए युवालाई यही देशमा राख्न सकिन्छ,” उनले जोड दिए।
कांग्रेसको चौधौँ महाधिवेशनमा युवालाई नेतृत्व तहमा पुर्याउन आफूले भूमिका खेलेको उल्लेख गर्दै उनले मुलुकमा विकास र जनतामा आशा जगाउन युवालाई नेतृत्वमा स्थापित गरिएको बताए। “देश परिवर्तन गर्ने सामर्थ्य युवासँगै छ,” उनको भनाइ थियो।
सुशासनप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै डा. कोइरालाले आफू ‘क्यापेन फर क्लिन पोलिटिक्स’ अभियानमार्फत स्वच्छ र जवाफदेही राजनीतिका पक्षमा निरन्तर उभिने स्पष्ट पारे।