काठमाडौं । युक्रेनमाथि रुसको आक्रमण जारी रहँदा शनिबार बिहान ऊर्जा संरचनालाई लक्षित गरी गरिएको अर्को ठूलो हमलाले देशभर गम्भीर मानवीय संकट निम्त्याएको छ। आक्रमणपछि युक्रेनका विभिन्न क्षेत्रमा करिब १२ लाख घर तथा भवन विद्युत् आपूर्तिबाट वञ्चित भएका छन् भने चिसो बढ्दै तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झरेको छ।
राजधानी किभमा मात्र हजारौँ भवनको ताप प्रणाली अवरुद्ध भएको छ। युक्रेनका उपप्रधानमन्त्री ओलेक्सी कुलेबाका अनुसार शनिबार रातिसम्म किभका ३२ सयभन्दा बढी भवनमा ताप व्यवस्था बन्द भएको थियो। बिहानसम्म यो संख्या करिब ६ हजार पुगे पनि आपत्कालीन मर्मत कार्यपछि केही हदसम्म घटाइएको छ। उनका अनुसार राजधानीमा १६० भन्दा बढी आपत्कालीन टोली ताप प्रणाली पुनःसञ्चालनमा खटिएका छन्।
ऊर्जा मन्त्री डेनिस श्मिहालले किभमा मात्रै आठ लाखभन्दा बढी घरमा अझै विद्युत् आपूर्ति हुन नसकेको जानकारी दिएका छन्। त्यस्तै, चेर्निहिभ क्षेत्रमा करिब चार लाख नागरिक पूर्ण रूपमा अन्धकारमा बस्न बाध्य भएका छन्।
लगातारका आक्रमणका कारण युक्रेनका धेरै भागमा केन्द्रीय ताप प्रणाली पहिलेदेखि नै क्षतिग्रस्त अवस्थामा थियो। यसका कारण अपार्टमेन्ट र आवासीय भवनमा पर्याप्त ताप पुग्न नसकेको अवस्थामा पछिल्लो आक्रमणले अवस्था झनै जटिल बनाएको बताइएको छ।
युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले रुसले राजधानी किभसँगै देशका उत्तर–पूर्वी चार अन्य क्षेत्रलाई पनि निशाना बनाएको जानकारी दिएकी छन्। उनका अनुसार सरकारले क्षतिग्रस्त विद्युत् केन्द्रहरूको तीव्र मर्मत गरिरहेको छ भने विद्युत् आयात बढाउने र वैकल्पिक ऊर्जा स्रोत जोड्ने प्रयाससमेत तीव्र पारिएको छ।