निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा उम्मेदवारको विवरण सार्वजनिक

0 Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको वैयक्तिक विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आयोगले पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न कानूनी व्यवस्था अनुसार यो विवरण वेबसाइटमार्फत उपलब्ध गराएको हो।

निर्देशिका २०८२ को दफा २२ (१) अनुसार उम्मेदवारहरूले मनोनयन पत्रसहित बुझाएको व्यक्तिगत विवरण आयोगले आफ्नै वेबसाइटमा प्रकाशित गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। यसबाट मतदाता, सञ्चारमाध्यम र सरोकारवाला निकायले उम्मेदवारको पृष्ठभूमि, योग्यता र अनुभवबारे सहजै जानकारी लिन सक्नेछन्।

माघ ६ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा एकैसाथ मनोनयन दर्ता भएको थियो। यस प्रणालीमा कुल ३ हजार ४८६ उम्मेदवार दर्ता भएका छन्, जसमा ३ हजार ८९ पुरुष, ३९६ महिला र १ अन्य उम्मेदवार रहेका छन्।

आयोगले उपलब्ध गराएको विवरणले मतदातालाई आफ्नो निर्वाचन क्षेत्रका उम्मेदवारको जानकारी हासिल गर्न, तुलना गर्न र सूचित निर्णय लिन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। इच्छुक मतदाता उम्मेदवारको सम्पूर्ण विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइटबाट हेर्न सक्नेछन्।

सम्बन्धित समाचारसबै