राप्रपाको बहिष्कारको असर : कोशीमा १४ जनप्रतिनिधिले गरेनन् मतदान

0 Shares

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा आइतबार सम्पन्न मतदानमा उल्लेख्य संख्यामा जनप्रतिनिधि अनुपस्थित भएका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार १४ जना जनप्रतिनिधिले मतदान प्रक्रियामा सहभागिता जनाएनन्, जसमा ५ जना प्रदेशसभा सदस्य र ९ जना स्थानीय तहका पदाधिकारी रहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रको निर्णयअनुसार निर्वाचन बहिष्कार गर्ने नीति लिएकाले मतदाताको संख्या घटेको निर्वाचन कार्यालयले जनाएको छ। कोशी प्रदेशसभामा राप्रपाका ६ जना सांसद रहे पनि संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन प्रदेशसभा सदस्य पदबाट राजीनामा दिइसकेका छन्। बाँकी पाँच जना सांसद सभामुख अम्बरबहादुर विष्ट, गोपालबहादुर विश्वकर्मा, नीमसरी राजवंशी, प्रेमराज थामसुहाङ र सबिना बजगाईंले मतदानमा भाग लिएनन्।

स्थानीय तहस्तरमा पनि राप्रपाबाट निर्वाचित जनप्रतिनिधिहरूले मतदान बहिष्कार गरे। मतदान नगर्नेहरूमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, भद्रपुरकी उपप्रमुख राधा कार्की, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलगायत रहेका छन्।

कोशी प्रदेशका १३७ पालिकामा रहेका २७४ जनप्रतिनिधिमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका छन् भने एक जना भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन्। प्रदेशसभाका ९३ सदस्य र स्थानीय तहका २७४ प्रतिनिधि गरी कुल ३६७ मतदाता भए पनि बहिष्कार र राजीनामाका कारण अन्तिममा ८७ प्रदेशसभा सदस्य र २५८ स्थानीय तहका प्रतिनिधिले मात्र मतदान गरे।

यसअघि नै कोशी प्रदेशमा अन्य समूहबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्। आइतबारको मतदान महिला र दलित कोटाका रिक्त दुई पदका लागि भएको हो। मतदान सकिएसँगै अहिले मतगणनाको तयारी सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

सम्बन्धित समाचारसबै