निर्वाचनका समस्या समाधान गर्न आयोगद्वारा संयुक्त केन्द्र सञ्चालन

0 Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सक्रिय बनाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका क्रममा देखिन सक्ने समस्या तत्काल सम्बोधन गर्ने उद्देश्यले आयोग परिसरमै उक्त केन्द्र स्थापना गरिएको हो।

आइतबारदेखि सञ्चालनमा आएको केन्द्रको उद्घाटन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन्। उनले निर्वाचनका बेला कुनै पनि क्षेत्रबाट समस्या आएमा ढिलाइ नगरी समाधान गर्ने गरी केन्द्रले काम गर्ने बताए।

मतदान केन्द्रस्तरमै समाधान हुन नसक्ने विषयहरू केन्द्रमार्फत समन्वय गरी तत्काल टुंगो लगाइने आयोगको भनाइ छ। यसका लागि केन्द्रले आवश्यक सूचना संकलन, विश्लेषण तथा तत्काल निर्णय प्रक्रिया अघि बढाउनेछ।

आयोगका सचिवको नेतृत्वमा सञ्चालन हुने यस केन्द्रमा गृह मन्त्रालयका सहसचिवसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्यका रूपमा रहने व्यवस्था गरिएको छ।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र प्रभावकारी रूपमा सम्पन्न गराउन संयुक्त निर्वाचन सञ्चालन केन्द्रले २४ सै घण्टा निगरानी र समन्वय गर्ने आयोगले जनाएको छ।

सम्बन्धित समाचारसबै