निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

0 Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र जिल्ला समन्वय समितिको भूमिकालाई थप कडाइका साथ सक्रिय बनाउन निर्देशन दिएको छ । मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ पूर्ण रूपमा कार्यान्वयन गर्न औपचारिक पत्राचार गरेको हो ।

मन्त्रालयका अनुसार निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि लागू गरेको निर्वाचन आचारसंहिता स्थानीय तहको जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी रूपमा पालना गराउनुपर्ने भएकाले यस्तो सर्कुलर जारी गरिएको हो । मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रमा स्थानीय सरकार र जिल्ला समन्वय समितिले आ–आफ्नो क्षेत्रमा आचारसंहिता उल्लङ्घन हुन नदिन सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ ।

यसअघि सरकारले पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचारसंहिता सार्वजनिक गरिसकेको थियो । निर्वाचन आयोगले अर्को निर्णय नआएसम्मका लागि उक्त आचारसंहिता लागू रहने स्पष्ट पारेको छ । यही आचारसंहिता माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन दुवैका लागि लागू हुनेछ ।

मन्त्रालयले निर्वाचनको निष्पक्षता र मर्यादा कायम राख्न स्थानीय तहको सहकार्य अपरिहार्य रहेको भन्दै आवश्यक जानकारी र कार्यान्वयनका लागि सबै निकायको ध्यानाकर्षण गराएको छ । निर्वाचन आचारसंहितामा विशेषगरी परिच्छेद १०, अनुसूची ५ र दफा ५५ कार्यान्वयनमा संवेदनशील रहेको जनाइएको छ ।

सम्बन्धित समाचारसबै