गफले होइन, श्रमले मात्रै देश बन्छ : हर्क साम्पाङ

0 Shares

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमबिनाको विकास असम्भव रहेको स्पष्ट पार्दै गफ र भाषणले मात्रै देश नबन्ने बताएका छन्।

आज स्थानीयवासीसँगको भेटघाटमा बोल्दै अध्यक्ष साम्पाङले नेपालमा काम गर्ने संस्कृतिलाई हेप्ने र गफ गर्ने प्रवृत्तिलाई सम्मान गर्ने गलत मानसिकता मौलाएको आरोप लगाए। ‘काम नगरेर देश बनेको इतिहास छैन,’ भन्दै उनले श्रमलाई प्राथमिकता नदिएसम्म मुलुक आत्मनिर्भर बन्न नसक्ने धारणा राखे।

उनले श्रम संस्कृति पार्टीले मात्रै श्रमलाई व्यवहारमा उतारेको दाबी गर्दै सबै नागरिकलाई उत्पादनशील काममा जोडिन आह्वान गरे। ‘श्रम नगरी देश स्वाधीन हुँदैन,’ भन्दै उनले श्रम गर्ने मानिसलाई अपमान गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष साम्पाङले राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको आरोप लगाउँदै भने, ‘हामीकहाँ गफ गर्ने मान्छे सम्मानित छन्, काम गर्ने मान्छे हेपिन्छन्। यो सोच बदलिएन भने देश कहिल्यै अगाडि बढ्दैन।’

उनका अनुसार सबै नागरिकलाई उत्पादनशील काममा जोड्न नसक्दासम्म बेरोजगारी, गरिबी र परनिर्भरताको समस्या समाधान हुन सक्दैन। विशेषगरी श्रमबाट टाढा रहेका युवाहरू ठूलो संख्यामा विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले यसलाई राष्ट्रका लागि गम्भीर चेतावनीको रूपमा व्याख्या गरे।

विदेशी सहयोग र अनुदानले मात्र देश नबन्ने स्पष्ट पार्दै अध्यक्ष साम्पाङले आफ्नै श्रम, सीप र स्रोतको अधिकतम उपयोगबाट मात्रै दिगो विकास सम्भव हुने बताए। ‘विदेशी आएर हाम्रो देश बनाइदिँदैनन्। आफ्नो देश आफैँले बनाउने हो,’ भन्दै उनले श्रमलाई मूल आधार मानेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। रासस

सम्बन्धित समाचारसबै