काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले हरिबोल गजुरेललगायत नेतामाथि गरिएको पार्टी कारबाहीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनले यस्तो निर्णय तुरुन्त स्थगित गरी पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने माग गरेका छन् ।
नेता खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै आकस्मिक बैठक बोलाउन, कारबाहीको कारणबारे पार्टीभित्र स्पष्ट बहस गर्न र सम्पूर्ण घटनाक्रमको समीक्षा गर्न आग्रह गरेका छन् । पार्टीमा अधिनायकवादी शैली होइन, सामूहिक निर्णय र नेतृत्व प्रणाली स्थापित गर्नुपर्ने उनको जोड छ ।
‘गजुरेलजस्ता वरिष्ठ नेताहरूलाई स्पष्टीकरणको अवसरसमेत नदिई निष्कासनजस्तो कठोर कदम चालिनु गम्भीर विषय हो,’ खनालको भनाइ छ । उनले पार्टीमा अझै नेतृत्वदायी कमिटी नबन्नु, संस्थागत निर्णय प्रक्रिया विकास नहुनु र केही व्यक्तिको इच्छाअनुसार ठूला निर्णय हुनु चिन्ताजनक रहेको बताए ।
खनालले कारबाही फिर्ता नभए पार्टी एकीकरणकै चरणमा गम्भीर अव्यवस्था र विखण्डनतर्फ जान सक्ने चेतावनी पनि दिएका छन् । विभिन्न घटकबाट आएका नेताहरूलाई निर्णयबारे औपचारिक जानकारीसमेत नदिइ संचारमाध्यमबाट थाहा पाउनु दुर्भाग्यपूर्ण भएको उनको टिप्पणी छ ।
उल्लेखनीय छ, पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिन भूमिका खेलेको आरोपमा नेकपाले हरिबोल गजुरेलसहित सात जना नेतालाई शनिबार पार्टीबाट निष्कासन गरेको थियो ।