महोत्तरीमा पूर्वमन्त्रीहरूको भीड : चार क्षेत्रमा सात जना प्रतिस्पर्धामा

0 Shares

महोत्तरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी जिल्ला राजनीतिक रूपमा निकै चासोको केन्द्र बनेको छ । चार निर्वाचन क्षेत्र रहेको यस जिल्लाबाट सात जना पूर्वमन्त्रीहरू चुनावी प्रतिस्पर्धामा उत्रिँदा चुनावी माहोल थप रोचक बनेको हो ।

निर्वाचन क्षेत्र नं–१ बाट पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रमा नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्ले पनि प्रतिस्पर्धामा छन् ।

त्यस्तै, क्षेत्र नं–२ बाट पूर्वश्रम, रोजगार तथा यातायातमन्त्री शरत्सिंह भण्डारी जनता समाजवादी पार्टी नेपाल (जसपा)को उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । उनीसँग नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादव र नेकपा (एमाले) का कासिम नदाफ चुनावी प्रतिस्पर्धामा छन् ।

क्षेत्र नं–३ मा दुई पूर्वमन्त्रीबीच कडा प्रतिस्पर्धा देखिएको छ । पूर्वकृषिमन्त्री हरिनारायण यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान नेपाल सङ्घीय समाजवादी पार्टीबाट चुनाव लड्दै छन् । यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवार रामआधार कापर, नेपाली कांग्रेसका बजरङ्ग नेपाली, जसपा नेपालकी मिनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वलकुमार झा र नेकपा (एमाले) का मनोजकुमार सिंह पनि मैदानमा छन् ।

यसैगरी निर्वाचन क्षेत्र नं–४ बाट तीन जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । पूर्वकृषिमन्त्री महेन्द्रकुमार राय नेपाली कांग्रेसबाट, पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव जसपा नेपालबाट र पूर्व प्रदेश गृहमन्त्री भरतप्रसाद साह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेका छन् । यस क्षेत्रमा नेकपा (एमाले) का निलम अधिकारी पनि प्रतिस्पर्धीका रूपमा छन् ।

पूर्वमन्त्रीहरूको उल्लेख्य उपस्थितिले महोत्तरीका सबै निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा तीव्र बनेको छ भने मतदातामा पनि चासो बढाएको छ । रासस

सम्बन्धित समाचारसबै