काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय र बाढीपीडितले आफ्ना माग तत्काल पूरा नभए काठमाडौंतर्फको पानी आपूर्ति पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरूले आइतबार खानेपानी मन्त्री मदन परियारसँग भेट गरी सरकारलाई अन्तिम समयसीमा दिएका हुन् ।
उपभोक्ता तथा बाढीपीडितको तर्फबाट मेलम्ची खानेपानीका वितरक उत्तरकुमार श्रेष्ठले विगतमा भएका सहमति अझै कार्यान्वयन नभएको गुनासो गरेका छन् । उनका अनुसार मन्त्री परियारले पुराना सम्झौता लागू गर्नका लागि थप १० दिनको समय मागेका छन् ।
२०७८ सालको बाढीपहिरोबाट प्रभावित पीडितका समस्या समाधान गर्न तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग यसअघि सम्झौता भएको थियो । तर सो सहमति कार्यान्वयन नभएपछि पीडितहरूले पटक–पटक पानी पथान्तरण रोकेर दबाब दिँदै आएका छन् ।
‘२०७५ सालदेखि मेलम्ची आयोजनाका कारण हामी निरन्तर पीडामा छौँ । पटक–पटक मन्त्रीसँग सहमति भयो तर व्यवहारमा आएन,’ एक पीडितले भने, ‘यसअघि तीन महिना समय दिइयो, फेरि दस दिन मागिएको छ । अब यो अवधिमा पनि सुनुवाइ नभए काठमाडौंको पानी बन्द गर्न बाध्य हुनेछौं ।’
स्थानीयवासीका अनुसार दीर्घकालीन समस्या समाधान नगरी समय मात्रै माग्दै जाने सरकारी प्रवृत्तिले विश्वास गुम्दै गएको छ । मेलम्चीवासीको चेतावनीपछि काठमाडौंको खानेपानी आपूर्तिमा पुनः संकट आउन सक्ने चिन्ता बढेको छ ।