काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले सञ्चारमाध्यमलाई आधिकारिक स्रोतमा आधारित रहेर मात्रै समाचार तथा सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।
सार्वजनिक सेवा प्रसारण नेपालद्वारा आयोजित ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको संवेदनशील समयमा गलत वा भ्रामक सूचना फैलिन नदिन सञ्चारमाध्यमले विशेष सतर्कता अपनाउनुपर्ने बताए ।
उनका अनुसार निर्वाचनको बेला नागरिकलाई सही, तथ्यपरक र विश्वसनीय सूचना अत्यावश्यक हुने भएकाले आचारसंहिता पालनामा सञ्चारमाध्यमको भूमिका झनै महत्त्वपूर्ण हुन्छ । ‘सञ्चारमाध्यमले स्वयं आचारसंहिता पालना गर्ने मात्र होइन, अरुलाई पनि पालना गराउन सहयोगी भूमिका खेल्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम निगरानीकर्ताको भूमिकामा रहनुपर्ने धारणा राखे ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न निर्वाचन सफल बनाउन र नागरिकसम्म सही सूचना पुर्याउन सञ्चारमाध्यमले महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरिन् ।