स्वतन्त्र उम्मेदवार पुनको किताब बिक्रीमा आयोगको रोक

0 Shares

काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक उम्मेदवारको आत्मकथा बिक्रीमा निर्वाचन आयोगले रोक लगाएको छ । निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारको चुनाव चिह्न प्रयोग गरिएको कुनै पनि सामग्री उत्पादन, वितरण वा बिक्री गर्न नपाइने व्यवस्था रहेकाले यस्तो निर्णय गरिएको जनाइएको छ ।

उम्मेदवार पुनका अनुसार निर्वाचन कानुनकै कारण आफ्नो पुस्तक बिक्री गर्न नपाएको हो । उनले विरोधी पक्षको उजुरीका आधारमा निर्वाचन आयोगले किताब नबेच्न निर्देशन दिएको बताएका छन् ।

‘आचारसंहितामा उम्मेदवारको चुनाव चिह्न भएको कुनै पनि वस्तु बनाउन, बाँड्न वा बेच्न नपाइने उल्लेख छ,’ पुनले भने, ‘त्यही प्रावधानलाई आधार मानेर म्याग्दीमा मेरो आत्मकथा बिक्री गर्न नपाइने भन्दै उजुरी परेपछि आयोगले रोक लगाएको हो ।’

पुनले आफ्नो आत्मकथामा चुनाव चिह्न त्रिभुज नरहेको र आफू केवल लेखकको भूमिकामा मात्र रहेको स्पष्ट पारेका छन् । उनले पुस्तक बिक्रीबाट आफूले कुनै प्रकारको रोयल्टी नलिएको पनि दाबी गरेका छन् ।

उनका अनुसार किताब बिक्रीबाट प्राप्त सम्पूर्ण रकम वीरगञ्ज कृषि औजार कारखानामा जाने व्यवस्था गरिएको छ । सो कारखाना कुनै व्यक्ति वा समूहको नभई सम्पूर्ण नेपालीको साझा सम्पत्ति भएको उनले उल्लेख गरेका छन् ।

निर्वाचनको समयमा आचारसंहिता कार्यान्वयनलाई लिएर आयोगको निर्णय र त्यसप्रति उम्मेदवारको प्रतिक्रिया सार्वजनिक भएपछि यो विषय चर्चामा आएको छ ।

सम्बन्धित समाचारसबै