निर्वाचन स्वच्छतामाथि प्रश्न,मन्त्रीदेखि उम्मेदवारसम्म आचारसंहितामा तानिए

0 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी बढेपछि निर्वाचन आयोगले कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, सार्वजनिक पदाधिकारी तथा संघसंस्थासमेत गरी आठ जनासँग स्पष्टीकरण सोधेको जनाएको छ।

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा पैसा बाँडिएको, सरकारी स्रोत,साधनको दुरुपयोग गरिएको, बालबालिकालाई चुनावी गतिविधिमा संलग्न गराइएको तथा द्वेषपूर्ण र घृणात्मक अभिव्यक्ति प्रयोग गरिएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको हो। पहिलोपटक आचारसंहिता उल्लङ्घन गरेको देखिएका व्यक्ति वा संस्थालाई तीन दिनको समय दिएर जवाफ मागिएको उनले बताए।

जाजरकोट निर्वाचन क्षेत्रका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतमाथि उम्मेदवारी दर्ताका क्रममा बाजा बजाउने व्यक्तिहरूको टाउकोमा पैसा सिउरिएको दृश्य सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले उक्त गतिविधिलाई आचारसंहिता विपरीत ठहर गरेको हो।

धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री राजेन्द्रकुमार राईलाई पनि पैसा बाँडेको आरोपमा सचेत गराएको छ। उजुरी दर्ता भएपछि आचारसंहिता उल्लङ्घनको आशंकामा आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।

यसैगरी सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लाई बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। निर्वाचन आचारसंहिताले बालबालिकालाई कुनै पनि प्रकारका राजनीतिक वा चुनावी गतिविधिमा प्रयोग गर्न निषेध गरेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आयोगको कारबाही प्रक्रियामा परेका छन्। झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा मुख्यमन्त्री कार्की सरकारी सवारी प्रयोग गरी उपस्थित भएको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो। आचारसंहिताअनुसार निर्वाचन अवधिमा सार्वजनिक पदाधिकारीले सरकारी स्रोत र साधन प्रयोग गर्न पाउँदैनन्।

काठमाडौं क्षेत्र नम्बर ४ का राप्रपा उम्मेदवार सुरेन्द्र भण्डारीलाई यौनिक तथा अल्पसंख्यक समुदायविरुद्ध द्वेषपूर्ण र घृणात्मक अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। आयोगका अनुसार यस्ता अभिव्यक्ति निर्वाचनको स्वच्छता र सामाजिक सद्भावविरुद्ध मानिन्छन्।

दोलखा निर्वाचन क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेललाई पनि दलको झण्डाको प्रयोग र मनोनयन दर्ताका क्रममा तोकिएको संख्याभन्दा बढी व्यक्तिको सहभागिताका कारण स्पष्टीकरण सोधिएको थियो। खरेलले आचारसंहिता उल्लङ्घन भएको स्वीकार गर्दै आगामी दिनमा पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

व्यक्तिसँगै संघसंस्थामाथि पनि आयोगको निगरानी बढेको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्वाचन अवधिमा गतिविधि सञ्चालन गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ। दुवै संस्थामाथि आचारसंहिता उल्लङ्घनको आशंका गरिएको हो।

आयोगका अनुसार दोस्रोपटक पनि आचारसंहिता उल्लङ्घन दोहोरिए २४ घण्टे स्पष्टीकरण सोधिनेछ। त्यसपछि पनि सुधार नदेखिए जरिबानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही गर्न सकिने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहविरुद्ध पनि निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता गगन थापाप्रति सामाजिक सञ्जालमा गरिएको अभिव्यक्तिलाई लिएर उजुरी परेको हो। उजुरीमा प्रयोग गरिएका शब्दहरू प्रमाणविहीन, भ्रामक र घृणात्मक रहेको दाबी गरिएको छ।

उजुरीकर्ताले यस्ता अभिव्यक्तिले व्यक्तिको प्रतिष्ठामा क्षति पुर्‍याउने, राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदातालाई भ्रममा पार्ने खतरा रहेको उल्लेख गर्दै तथ्यपरक छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्। साथै केही जिल्लामा विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गरी चुनावी प्रचार गरिएको आरोपसमेत उजुरीमा समावेश गरिएको छ।

निर्वाचन आयोगले बढ्दो उजुरीलाई गम्भीर रूपमा लिँदै निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सुनिश्चित गर्न आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारेको छ।

सम्बन्धित समाचारसबै