ओखलढुंगामा बृद्ध दम्पतीको हत्या

0 Shares

विराटनगर । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा बृद्ध दम्पतीको लुटपाटपछि हत्या भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

भदौरेस्थित बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राई मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूको घरमै सञ्चालन हुँदै आएको किराना पसलमा लुटपाट गरी दम्पतीको हत्या गरिएको आशंका गरिएको छ।

स्थानीय बासिन्दाका अनुसार दम्पतीले लामो समयदेखि आफ्नै घरमा सानो किराना पसल सञ्चालन गर्दै आएका थिए। घटना सार्वजनिक भएपछि गाउँमा भय र असुरक्षाको भावना बढेको छ।

चिशंखुगढी गाउँपालिका–६ का वडाअध्यक्ष बलराम कटवालले पसलमा लुटपाट भएपछि दम्पतीको हत्या भएको पुष्टि गर्दै पछिल्लो समय सो क्षेत्रमा आपराधिक गतिविधि बढ्दै गएको बताए। उनले सुरक्षाको अवस्था कमजोर हुँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा परिचालित गरिएको छ। उनले आफू पनि घटनास्थलतर्फ जाँदै गरेको र घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए।

उल्लेखनीय छ, करिब एक महिनाअघि यही चिशंखुगढी गाउँपालिका–६ भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी पत्नी रत्नमाया थापामगरको पनि हत्या भएको थियो। सो घटनामा संलग्न आरोपमा चार जना पक्राउ परिसकेका छन्।

लगातार दुई वृद्ध दम्पतीको हत्या भएपछि स्थानीयवासीमा आक्रोश र त्रास बढेको छ। प्रहरीका अनुसार पछिल्लो घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ।

सम्बन्धित समाचारसबै