द्रुतमार्गमा प्रधानमन्त्रीको निरीक्षण:विकास र सांस्कृतिक संरक्षणमा सन्तुलनमा जोड

0 Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको सर्वाधिक प्राथमिकता प्राप्त काठमाडौँ–तराई मधेश द्रुतमार्गको निरीक्षण गर्दै विकास निर्माण कार्य अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदामा असर नपुग्ने खालको व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ।

आज ललितपुरको खोकना क्षेत्रमा सडक निर्माण कार्यदलद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्थानीयवासीका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिन र आवश्यक परे रेखाङ्कन वा जिरोविन्दु परिवर्तन गर्न समेत तयार हुन निर्देशन दिनुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “स्थानीयका विश्वासमा आघात नपुर्‍याइ विकास कार्य अघि बढाउनुपर्छ। प्राकृतिक विपद्का बेला, मेला, पर्व र जमघटको लागि खुला ठाउँ पर्याप्त रहनुपर्छ। योजना बनाउँदा नै खाली ठाउँ सुनिश्चित गरी संरचना निर्माण गर्नुपर्छ।”

कार्यक्रमअघि प्रधानसेनापति अशोकराज सिग्देल र आयोजनाका प्रमुख उपरथी धर्मेन्द्र झाले हालसम्मको कार्य प्रगति, चुनौती र आगामी योजनाबारे जानकारी गराएका थिए। निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्र मन्त्री, विभिन्न मन्त्रालयका सचिवहरू तथा नेपाली सेनाका प्रतिनिधिहरू पनि सहभागी थिए।

कुल ७०.९७ किमी लम्बाइको द्रुतमार्गको भौतिक प्रगति हाल करिब ४५ प्रतिशतको हाराहारीमा पुगेको छ। आयोजनामा ८७ भन्दा बढी पुल निर्माण गर्नुपर्नेछ, जसमा केही विशिष्ट ८२ मिटर अग्ला पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। निर्माण कार्य निर्धारित मिति  २०८३ चैत मसान्त भित्र सम्पन्न हुने प्रारम्भिक अनुमान गरिएको छ।

निर्माणपछि काठमाडौँ र मध्यतराईबीच सिधा सम्पर्क हुने यो मार्गले ढुवानी समय र लागतमा उल्लेख्य कमी ल्याउने र आर्थिक विकासमा ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजनामा सात वटा सुरुङ निर्माणसमेत भइरहेको छ, जसले प्राविधिक चुनौती थप गरेको छ।

सम्बन्धित समाचारसबै