प्रकाश सपुत रास्वपाबाट दलित कोटामा उम्मेदवार

0 Shares

काठमाडौँ । चर्चित गायक तथा अभिनेता प्रकाश सपुतले औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत सक्रिय राजनीतिमा अघि बढ्ने घोषणा गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगको तस्वीर सार्वजनिक गर्दै सपुतले आफ्नो निर्णयबारे जानकारी दिएका हुन्।

सपुतले लेखेका छन्, “सम्पूर्ण नेपालीहरूको व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्दै, कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने र सहयोग गर्ने निधो गरेको छु।”

उनी आफ्नो राजनीतिक प्रवेशलाई जीवनकै कठिन निर्णयको रूपमा चित्रित गर्छन्। कला र सिर्जनामार्फत विभिन्न राजनीतिक विषयमा दर्शक–स्रोताको मन जित्दै आएका सपुतका लागि यो कदम सहज भने छैन।

सपुतले थप लेखेका छन्, “मैले दुःख, संघर्ष, मिहिनेत र धैर्यताले टिकाएको मेरो कला यात्राका क्रममा रिझाएका थुप्रै दर्शक–स्रोताको मन दुखाएर तपाईंहरूसँग हातेमालो गर्दै छु। पेसागत हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो। तर, यो निर्णय गलत सावित नहुनेमा म विश्वस्त छु। कुनै एक दलमा लागेको भनेर मन दुखाउने मेरा प्रिय दर्शक–स्रोताको मन हामीले हाम्रो काम र इमान्दारीले जित्नेछौँ। हामी सँगै देशले जित्नेछ।”

रास्वपाले प्रकाश सपुतलाई २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाइसकेको छ। हालै सांगीतिक टूर समाप्त गरेका सपुत अब चुनावी प्रचार–प्रसारमा सक्रिय हुने तयारीमा छन्।

प्रकाश सपुत केवल लोकप्रिय गायक मात्र होइनन्; उनी वर्ग, पीडा र पहिचानको आवाज बनेका कलाकार हुन्। उनका गीतहरूले दलित जीवन, श्रम, सामाजिक विभेद र सीमान्तकृत समुदायका कथा बोलेका छन्। यही कारणले उनी राजनीतिमा प्रवेश गर्दा धेरैले यसलाई आशाको संकेतको रूपमा लिएका छन्।

तर, कलाबाट राजनीतिसम्मको संक्रमण सहज छैन। सपुत ११ माघसम्म सांगीतिक कार्यक्रममा व्यस्त रहने र त्यसपछि राजनीतिक भूमिकामा परिवर्तन आउने बताउँछन्, जसले कलाकारको भावनात्मक संसार र राजनीतिक यथार्थबीचको द्वन्द्व देखाउँछ।

राजनीतिमा आएपछि अब गीतले होइन, निर्णयले बोल्नुपर्छ, भावना होइन, नीति र कानुनले मूल्यांकन हुन्छ। सपुतजस्ता संवेदनशील कलाकारका लागि यो रूपान्तरण सहज नभए पनि असम्भव छैन।

सम्बन्धित समाचारसबै