घण्टी बजाएर मात्रै परिवर्तन हुँदैन:प्रचण्ड

0 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिखण्डित कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध हुन कडा आह्वान गरेका छन्। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँग एकता घोषणा कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले अब व्यक्तिगत बाटोमा हिँडेर आन्दोलन अघि नबढ्ने स्पष्ट पारे।

राष्ट्र, कम्युनिस्ट आन्दोलन र जनताको समृद्धिको चाहनालाई सम्बोधन गर्न एकताको विकल्प नरहेको उनको भनाइ थियो। “राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र जनताको विकास तथा समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी एकजुट हुनैपर्छ,” प्रचण्डले भने।

उनले मोहन वैद्य ‘किरण’लाई समेत नेपाली कम्युनिस्ट पार्टीमा सहभागी हुन आग्रह गरे। अहिलेको राजनीतिमा सिद्धान्त र विचारको गहिरो खडेरी परेको टिप्पणी गर्दै उनले सामाजिक सञ्जाल केन्द्रित ‘स्टन्ट राजनीति’ले जनतालाई भ्रमित बनाइरहेको आरोप लगाए।

“सोसल मिडियामा देखिने स्टन्टबाजीका भरमा जनताको चेतनालाई भ्रमित पार्ने काम भइरहेको छ। घण्टी बजाउँदैमा वा नाराबाजी गर्दैमा परिवर्तन आउँदैन,” उनले भने, “यस किसिमको प्रवृत्तिलाई रोक्न सबै वामपन्थी शक्तिहरू एकताबद्ध हुन जरुरी छ।”

प्रचण्डले कार्यक्रमको अन्त्यतिर सबै वामपन्थी धारहरूलाई साझा उद्देश्यका लागि मिलेर अघि बढ्न पुनः आग्रह गरे।

सम्बन्धित समाचारसबै