काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवार सवार चार्टर्ड विमान बुधबार बिहान दुर्घटनाग्रस्त भएको छ । मुम्बईबाट बारामतीतर्फ उडेको उक्त विमान बिहान करिब ८ः४५ बजे दुर्घटनामा परेको हो ।
अजित पवार जिल्ला परिषद् निर्वाचनका सिलसिलामा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए । प्रारम्भिक सूचनाअनुसार विमान दुर्घटनामा परे पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
घटनापछि अजित पवारको अवस्थाबारे तत्काल कुनै ठूलो क्षति नदेखिएको संकेत प्राप्त भएको बताइए पनि आधिकारिक पुष्टि तथा विस्तृत विवरण आउन बाँकी रहेको छ । सुरक्षाकर्मी र सम्बन्धित निकायले घटनाको अनुसन्धान सुरु गरेका छन् ।
यसअघि अजित पवार मंगलबार मुम्बईमै थिए । उनले मुख्यमन्त्री देवेन्द्र फडणवीसको अध्यक्षतामा बसेको महाराष्ट्र क्याबिनेट समिति (पूर्वाधार) को बैठकमा सहभागिता जनाएका थिए । उक्त बैठकमा मन्त्री चन्द्रशेखर बावनकुलेसहित सम्बन्धित उच्च अधिकारीहरू उपस्थित थिए ।
विमान दुर्घटनासम्बन्धी थप विवरण तथा अजित पवारको स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी प्रतीक्षा भइरहेको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ ।