निर्वाचन आचारसंहिता अनुगमनका लागि आयोगद्वारा अधिकृत नियुक्त

0 Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता अनुगमनका लागि जिल्लास्तरमा अनुगमन अधिकृत तोकेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक विषयबाहेकका आचारसंहिता सम्बन्धी गतिविधि अनुगमनको जिम्मा दिइएको आयोगले जनाएको छ । यस्तै, आर्थिक पक्षको अनुगमनका लागि प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ ।

आयोगका अनुसार निर्वाचन खर्च, सरकारी स्रोतको दुरुपयोग तथा आर्थिक अनुशासनसँग सम्बन्धित विषयमा उनीहरूले अनुगमन र प्रतिवेदन पेश गर्नेछन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वासनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरिसकेको छ ।

आचारसंहिता माघ ४ गतेदेखि लागू भइसकेको आयोगले जानकारी दिएको छ । आयोगले सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचारसबै