श्रम सम्झौता असफल भएपछि काइजर पर्मानेन्टेका स्वास्थ्यकर्मी हडतालमा

0 Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे अन्तर्गत कार्यरत ३० हजारभन्दा बढी स्वास्थ्यकर्मीले श्रम अधिकार र पारिश्रमिकको माग गर्दै हडताल सुरु गरेका छन् । अमेरिकाकै सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको पछिल्लो श्रमिक आन्दोलनका रूपमा यसलाई लिइएको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार क्यालिफोर्निया संयुक्त नर्स सङ्घ तथा स्वास्थ्य सेवा पेशाकर्मी सङ्घमा आबद्ध करिब ३१ हजार कर्मचारी हडतालमा उत्रिएका हुन् । हडतालमा दर्ता प्राप्त नर्स, एनेस्थेसिया विशेषज्ञ, औषधि विज्ञ, पोषण विज्ञ तथा अन्य प्राविधिक स्वास्थ्यकर्मी सहभागी छन् ।

उत्तरी क्यालिफोर्नियाका रोजभिल, सान्ता क्लारा र ओकल्यान्डस्थित काइजर पर्मानेन्टेका प्रमुख अस्पतालहरूमा प्रदर्शन चर्किएको छ । ओकल्यान्डमै संस्थाको केन्द्रीय कार्यालय रहेकाले त्यहाँ आन्दोलनको प्रभाव अझ बढी देखिएको छ । युनियनहरूले आवश्यक परे आन्दोलनलाई उत्तरी तथा दक्षिणी क्यालिफोर्नियाका अन्य क्षेत्रसम्म विस्तार गर्ने चेतावनी दिएका छन् ।

श्रम सम्झौतासम्बन्धी वार्ता लामो समयदेखि ठप्प भएपछि हडतालको बाटो रोजिएको युनियन नेताहरूले बताएका छन् । हालसम्म सात महिनाभन्दा बढी समयदेखि वार्ता जारी रहे पनि ठोस सहमति हुन सकेको छैन । काइजर पर्मानेन्टेसँगको पुरानो श्रमिक सम्झौता मार्च ३० मा समाप्त भइसकेको छ ।

यसअघि मार्च महिनामै पश्चिमी अमेरिकाका विभिन्न राज्यमा पाँच दिनसम्म चलेको हडतालमा ४० हजारभन्दा बढी कर्मचारी सहभागी भएका थिए । त्यस आन्दोलनपछि पनि माग सम्बोधन नभएपछि पुनः ठूलो स्तरको हडताल सुरु भएको हो ।

युनियनका अनुसार तलब वृद्धि, दीर्घकालीन कर्मचारी अभाव, कार्यस्थलको सुरक्षा तथा अत्यधिक कार्यभारका कारण बढ्दो थकान मुख्य विवादका विषय हुन् । युनियनले चार वर्षको अवधिमा कुल २५ प्रतिशत तलब वृद्धि माग गरेको छ । तर, काइजर पर्मानेन्टेले २१.५ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको छ, जसलाई संस्थाले हालसम्मकै ‘सबैभन्दा बलियो प्रस्ताव’ भनेको छ ।

सम्बन्धित समाचारसबै