प्रतिनिधि सभा निर्वाचन सुरक्षा: ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट, तालिम माघ १५ देखि

0 Shares

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट प्रक्रिया सम्पन्न भएको छ। यसपटक निर्वाचन प्रहरी बन्न इच्छुक २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका थिए।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार दरखास्त पर्याप्त भएका ६१ जिल्लामा छनोटको नतिजा सार्वजनिक भइसकेको छ। आवश्यक सङ्ख्याभन्दा कम आवेदन परेका १६ जिल्लामा भने पुनः दरखास्त आह्वान गरिएको र ती जिल्लामा लिखित तथा मौखिक परीक्षाको नतिजा बुधबार प्रकाशन गरिने तयारी भइरहेको छ।

छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि १० दिने तालिम दिइने छ। तालिमपछि उनीहरूलाई माघ २५ गतेदेखि फिल्डमा परिचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसैबीच, सशस्त्र प्रहरी बलले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको छनोट प्रक्रिया पनि चलिरहेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको समितिले सशस्त्र प्रहरीका निर्वाचन प्रहरी छनोट गरिरहेको छ। सशस्त्र प्रहरीले पहिलोपटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो, जसको प्रारम्भिक छनोटपछि तालिम सशस्त्र प्रहरीले नै सञ्चालन गर्नेछ।

यसपटकको निर्वाचन सुरक्षामा नेपाल प्रहरीले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरेको छ। त्यसका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरिसकेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन प्रहरीमा आवेदन दिने सबैको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मार्फत विवरण जाँच गरिएको छ। यस प्रणालीले अपराधमा संलग्न व्यक्ति वा फरार अभियुक्तको अवस्था पहिचान गर्न सहयोग गर्ने प्रहरीको भनाइ छ।

सम्बन्धित समाचारसबै