काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको सबैभन्दा ठूलो भीड काठमाडौं जिल्लामा देखिएको छ। निर्वाचन आयोगका अनुसार १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २५० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
देशभर १६५ निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि कुल ३ हजार ४०६ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला तथा एक जना अन्य लिङ्गका छन्। आयोगको तथ्याङ्कअनुसार प्रति निर्वाचन क्षेत्र औसतमा २०.६४ जनाको उम्मेदवारी परेको छ।
आयोगका अनुसार उम्मेदवारको संख्या बढी रहेका शीर्ष १० जिल्लामा काठमाडौं अग्रस्थानमा रहँदा त्यसपछि धनुषा, रौतहट, महोत्तरी, सिराहा, सर्लाही, सुनसरी, मोरङ र बारा रहेका छन्। यीमध्ये काठमाडौं बाहेक सबै तराई–मधेश क्षेत्रका जिल्ला हुन्।
जिल्लागत रूपमा हेर्दा काठमाडौंमा २५०, धनुषामा १५८, रौतहटमा १४२, महोत्तरीमा १३९, सिराहामा १३८ र सर्लाहीमा १३१ जनाले उम्मेदवारी दिएका छन्। यस्तै, सुनसरी, मोरङ र बारामा समान ११०–११० जनाको उम्मेदवारी परेको छ।
यसको विपरीत, हिमाली तथा उच्च पहाडी जिल्लामा उम्मेदवारको संख्या निकै न्यून देखिएको छ। सबैभन्दा कम उम्मेदवारी मनाङ जिल्लामा परेको छ, जहाँ मात्र तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्।
सबैभन्दा कम उम्मेदवारी भएका १० जिल्लामा मनाङपछि हुम्ला, मुगु, बझाङ, बाजुरा, मुस्ताङ, डोल्पा, डोटी, कालिकोट र जुम्ला रहेका छन्। यी सबै जिल्लामा उम्मेदवारी संख्या ३ देखि १० को दायराभित्र सीमित छ।
आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनमा १२ जिल्लामा एक सयभन्दा बढी उम्मेदवारी परेका छन् भने अधिकांश पहाडी र हिमाली जिल्लामा उम्मेदवारी संख्या दुई अंकमै सीमित रहेको छ। यसले निर्वाचनमा क्षेत्रगत सहभागिता र राजनीतिक सक्रियतामा स्पष्ट भिन्नता देखाएको छ।