काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलास मादुरोको गिरफ्तारीलाई युद्धको कार्य नभई रणनीतिक कदमको रूपमा व्याख्या गरेका छन्।
बुधबार वासिङ्टन डीसीमा अमेरिकी सिनेटको एक कमिटीसमक्ष सुनुवाइका क्रममा रुबियोले जनवरी २ मा गरिएको उक्त कारबाही अन्तर्राष्ट्रिय सुरक्षासँग जोडिएको निर्णय भएको बताए। उनका अनुसार भेनेजुएलाको अवस्था थप अस्थिर नहोस् भन्नका लागि यो कदम चालिएको हो।
बिबिसिका अनुसार सुनुवाइको सुरुमा रुबियोले संयुक्त राष्ट्रसंघका केही विज्ञहरूले उठाएका अन्तर्राष्ट्रिय कानुनसम्बन्धी प्रश्नहरू अस्वीकार गरेका थिए। उनले अमेरिकाको उद्देश्य भेनेजुएलामा जारी राजनीतिक संक्रमण अन्त्य गरी लोकतान्त्रिक प्रणाली स्थापना गर्नु रहेको बताए।
रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै मादुरो सरकारका अधिकारीहरूसँग संवादको विकल्पलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे। उनका अनुसार तत्काल सत्ता हस्तान्तरणको दबाबभन्दा गृहयुद्ध रोक्नु पहिलो लक्ष्य थियो।
“हामीले हाल देश नियन्त्रणमा राख्ने पक्षसँग सिधा, इमानदार र सम्मानजनक वार्ता गर्ने प्रयास गर्यौँ,” रुबियोले भने।
उनका अनुसार अमेरिकाको दोस्रो उद्देश्य भेनेजुएलाको अर्थतन्त्रलाई पुनर्जीवित गर्नु हो। यसअन्तर्गत तेल उद्योगलाई पुनः सञ्चालन गरी आर्थिक स्थायित्व ल्याउने योजना रहेको उनले बताए।
सुनुवाइका क्रममा डेमोक्रेटिक सिनेटर जीन शाहिनले अपरेसनको खर्चबारे प्रश्न उठाउँदै सैन्य कारबाही र समुद्री नाकाबन्दीमा करिब एक अर्ब डलरसम्म खर्च हुन सक्ने बताइन्। उनले आफ्ना मतदाताहरूले आन्तरिक महँगी र दैनिक समस्याहरू छाडेर भेनेजुएलामा किन ध्यान केन्द्रित गरिएको हो भनेर प्रश्न गरिरहेको बताइन्।