विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले कोशी प्रदेशको राजनीतिक नक्सा फेरिन सक्ने संकेत देखिन थालेको छ। २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सकिएसँगै सत्ता जोगाउने र सत्ता भत्काउने प्रतिस्पर्धा तीव्र बनेको छ।
२०७९ को निर्वाचनमा कोशीमा एमालेले १४ सिट जित्दै स्पष्ट अग्रता लिएको थियो भने कांग्रेस ९ सिटमै सीमित भएको थियो। तर यसपटकको चुनाव अघिल्लोपटकभन्दा फरक देखिन्छ—नयाँ शक्ति, बद्लिएको समीकरण र मतदातामा देखिएको असन्तुष्टिले मैदान झन् जटिल बनाएको छ।
गत निर्वाचनमा ताप्लेजुङदेखि उदयपुर–२ सम्म एमालेको प्रभावशाली उपस्थिति थियो। इलामका दुवै क्षेत्र, झापाका तीन, मोरङ र सुनसरीका दुई–दुई क्षेत्र जित्दै एमालेले कोशीमा आफ्नो बलियो पकड देखाएको थियो।
यसपटक पार्टी सचिव हिक्मतकुमार कार्की र प्रदेश इन्चार्ज शेरधन राई कम्तीमा १८ सिट जित्ने दाबी गरिरहेका छन्। तर पार्टीभित्रै सबै सिट सुरक्षित नहुने आँकलन पनि सुनिन थालेको छ। केही नेताहरूका अनुसार १०–१२ सिट जोगाउनै मुख्य चुनौती हुनेछ।
नेपाली कांग्रेसले अघिल्लो चुनावमा झापा–१, मोरङका तीन क्षेत्र, सुनसरी–४, उदयपुर–१, तेह्रथुम, संखुवासभा र ओखलढुंगामा जित निकालेको थियो।
प्रदेश महामन्त्री भूपेन्द्र राई टिकट वितरण अपेक्षाकृत सहज भएकाले कांग्रेस यसपटक कोशीको सबैभन्दा ठूलो दल बन्ने दाबी गर्छन्। यद्यपि, पार्टीभित्रको गुटबन्दी र अन्तर्घातको आशंका कांग्रेसका लागि कमजोर पक्षका रूपमा हेरिएको छ।
अघिल्लो चुनावमा मोरङ–४, भोजपुर र खोटाङ गरी तीन सिट जितेको तत्कालीन माओवादी (हाल नेकपा) ले यसपटक सात सिटसम्म पुग्ने लक्ष्य राखेको छ। वाम एकताले कार्यकर्तामा उत्साह थपेको नेताहरूको दाबी छ।
तर यो निर्वाचनमा सबैभन्दा ठूलो परिवर्तनको संकेत नयाँ दलहरूले दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले स्थापित दलहरूको मताधारमा सीधा चुनौती दिएका छन्।
रास्वपाले युवा उम्मेदवार र ‘परिवर्तन’को नारासहित १९ सिटसम्म जित्ने महत्वाकांक्षी दाबी गरेको छ। झापा, मोरङ र सुनसरीमा पार्टीको बढ्दो प्रभावले एमाले र कांग्रेस दुवैलाई असहज बनाएको विश्लेषण भइरहेको छ।
झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नो राजनीतिक विरासत जोगाउने प्रयासमा छन्। यसअघि एमालेको समर्थन पाएका लिङ्देन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यसपटक पनि अनौपचारिक समझदारीको चर्चा चलिरहेको छ।
मोरङ–५ बाट स्वतन्त्र निर्वाचित योगेन्द्र मण्डल तथा श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले चुनावी मैदानलाई बहुकोणात्मक बनाएका छन्, जसले नतिजा अनुमान गर्न झन् कठिन बनाएको छ।