काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न रहेको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति गरिएको अपरेसनका क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ गर्ने प्रयासका क्रममा एक जनाले प्रहरीलाई नै मोटरसाइकलले ठक्कर दिएर फरार हुन खोजेपछि आत्मरक्षाका लागि गोली प्रहार गर्नुपरेको थियो। गोली घुँडामुनि लागेको र घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
उक्त क्षेत्रमा लामो समयदेखि समूह बनाएर हिँडडुल गर्ने सर्वसाधारणलाई पछ्याउँदै गहना, नगद र अन्य मूल्यवान् सामान लुटपाट हुने गरेको उजुरी प्रहरीमा परिरहेको थियो। त्यसकै आधारमा निगरानी बढाउँदै प्रहरीले विशेष अपरेसन सञ्चालन गरेको हो।
पक्राउ परेकाहरूलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा राखी अनुसन्धान अघि बढाइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन्।