0
Shares
नेपाली कांग्रेसका नेता तथा उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको उम्मेदवार माघ १ मै टुंगो लागिसकेको दाबी गरेका छन्। कसैको उम्मेदवारी भदौ २३ गतेदेखि र कसैको भदौ २४ गतेदेखि सुरु भएको चर्चा भइरहे पनि अन्ततः कांग्रेसको प्रधानमन्त्री उम्मेदवार माघ १ कै भएको उनले स्पष्ट पारे।
उनका अनुसार पार्टीभित्र देखिएका सबै विवाद र फरक मतलाई पछाडि राख्दै नेपाली कांग्रेस नयाँ र पुराना सबै नेतालाई समेटेर एकताबद्ध ढंगले अघि बढिरहेको छ।
शर्माले कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युग र परिवर्तित राजनीतिक सन्दर्भको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी समयको मागअनुसार आफूलाई रूपान्तरण गर्दै अघि बढिरहेको बताए।
नेपाली कांग्रेस सद्भाव, सहअस्तित्व र मेलमिलापको मूल्य बोकेको पार्टी भएको भन्दै समाजमा एकता र सहकार्यको सन्देश प्रवाह गर्दै आएको उनको भनाइ छ।