सुनसरी । कहिल्यै नहारेको दाबी गर्दै आएको सुनसरी–१ यसपटक नेकपा (एमाले)का लागि सामान्य चुनावी प्रतिस्पर्धा मात्रै होइन, राजनीतिक हैसियत जोगाउने निर्णायक लडाइँ बनेको छ। ‘लट्ठी उभ्याए पनि जित्ने’ भनिँदै आएको क्षेत्रमा यसपटक एमाले पूरै शक्ति लगाएर मैदानमा उत्रिएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले ४० वर्षीय टीका माङलेनलाई उम्मेदवार बनाएसँगै पार्टी संगठन सक्रिय बनेको छ। विगतको इतिहास, सांगठनिक जालो र मतसंख्याको आधारमा आफूलाई स्वाभाविक दाबेदार ठान्दै आएको एमाले सुनसरी–१ मा पुरानो वर्चस्व फर्काउने रणनीतिमा छ।
तर, राजनीतिक धरातल पहिलेजस्तो सरल छैन। धरान केन्द्रित राजनीतिमा स्वतन्त्र धारका हर्क साम्पाङ, काठमाडौंका मेयर बालेन शाहको प्रभाव र नयाँ दलहरूको उदयले स्थापित गणित भत्क्याउने संकेत देखिन थालेको छ।
सुनसरी–१ को संसदीय इतिहास एमालेका लागि अनुकूल रहँदै आएको छ। पञ्चायतकालदेखि कम्युनिष्ट धारको प्रभाव रहेको यो क्षेत्रमा २०४८ सालमा मनमोहन अधिकारीले जित्दै देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्ने बाटो खोलेका थिए।
त्यसपछि २०५१ मा लीला श्रेष्ठ सुब्बा मेन्याङ्बो, २०५६ मा कुन्ता शर्मा, २०७० मा कृष्णकुमार राई र २०७४ मा जयकुमार राईले एमालेबाटै जित निकाले। २०७९ मा भने एमालेले समर्थन गरेको जसपाका अशोक राई विजयी बने।
पहिलो संविधानसभा निर्वाचन (२०६४) मा मात्रै माओवादीले अपवादस्वरूप जित हात पारेको थियो भने कांग्रेसले अहिलेसम्म यो क्षेत्रमा संसदीय जित देख्न सकेको छैन।
तर पछिल्ला स्थानीय तहका नतिजाले एमालेको आत्मविश्वासमा ठेस पुर्याएको छ। २०७६ सालको धरान उपमहानगर उपनिर्वाचनमा कांग्रेसका तिलक राईले एमाले उम्मेदवारलाई हराए। २०७९ मा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ मेयर निर्वाचित हुँदा एमालेको आधारमै ठूलो धक्का लाग्यो।
एमालेका उम्मेदवार टीका माङलेन संगठनभित्र परिचित भए पनि जनस्तरमा खासै चिनिएका छैनन्। यही कारण मतदाता समक्ष उम्मेदवार चिनाउने काम पार्टीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।
कतिपय स्थानीय बुद्धिजीवी संगठन बलकै कारण अन्ततः एमालेले जित निकाल्न सक्ने अनुमान गर्छन्। तर राजनीतिक विश्लेषक डा. राजेन्द्र शर्मा भने यस्तो निष्कर्षसँग सहमत छैनन्।
उनका अनुसार २०७९ कै चुनावमा, हर्क साम्पाङको पार्टी नजन्मिँदै र बालेन शाह राष्ट्रिय राजनीतिमा नआउँदै, रास्वपाकी गोमा तामाङ ‘सरिन’ ले एमाले समर्थित उम्मेदवारलाई कडा चुनौती दिएकी थिइन्। अहिले रास्वपामा बालेनको सक्रियता जोडिँदा सरिनको सम्भावना अझ बलियो बनेको शर्माको विश्लेषण छ।
धरान केन्द्रित सुनसरी–१ मा सहरी मतदाता परम्परागत दलबाट निराश देखिन्छन्। यही खाली ठाउँमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी आकर्षणको केन्द्र बनेको छ।
श्रमदान अभियान, आक्रामक अभिव्यक्ति, सामाजिक सञ्जालमार्फत सिधा संवाद र व्यवस्थाविरोधी छविले हर्कले युवा तथा ‘स्वीङ’ मतदाता तानेका छन्। धरानमा हर्क समर्थकहरू उनलाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरिरहेका छन्।
तर, हर्कका लागि पनि बाटो सहज छैन। अघिल्लो चुनावमा जम्मा ४ सय ५३ मतले पराजित भएकी रास्वपाकी गोमा तामाङ ‘सरिन’ यसपटक बलियो प्रतिस्पर्धीका रूपमा उभिएकी छन्। कोरोना पछिको समय धरानमै बसेर सामाजिक काममा सक्रिय सरिन यसपटक संगठन, पहिचान र एजेन्डासहित मैदानमा छिन्।
प्रतिस्पर्धा दुई पात्रमा मात्रै सीमित छैन। नयाँ स्वरूपमा आएको नेकपा (नेपाली कम्युनिष्ट पार्टी)ले धरान–१७ का दुई पटक निर्वाचित वडाध्यक्ष सूर्यबहादुर भट्टराई ‘मनोज’लाई उम्मेदवार बनाएको छ। सुकुम्बासी क्षेत्रमा बलियो पकड बनाएका मनोजलाई हर्क साम्पाङका ‘काउन्टर’का रूपमा पनि हेरिएको छ।
कांग्रेसले क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई उम्मेदवार बनाएको छ। लामो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा गरेका तामाङ आदिवासी जनजाति मतदातामा आशा राख्दै चुनावी मैदानमा छन्।
यसबाहेक उज्यालो नेपाल पार्टीबाट डम्बर लावती ‘जेन्टल’ पनि पहिचानवादी एजेन्डासहित प्रतिस्पर्धामा छन्।
धरान उपमहानगरपालिका, बराहक्षेत्रका केही वडा र रामधुनीका वडा समेटिएको सुनसरी–१ मा १ लाख ५० हजारभन्दा बढी मतदाता छन्। १९ दल र ७ स्वतन्त्र गरी २६ उम्मेदवार भए पनि व्यवहारतः पाँच दलबीच पञ्चकोणीय भिडन्त हुने देखिन्छ