सर्लाही–४ लाई नमुना निर्वाचन क्षेत्र बनाउने गगन थापाको प्रतिबद्धता

0 Shares

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आफ्नो निर्वाचन क्षेत्रलाई मधेशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सर्लाही–४ का मतदातासँगको प्रत्यक्ष संवादमा थापाले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ र सूचना प्रविधिलाई विकासको केन्द्रमा राखेर काम गर्ने बताएका हुन्।

आफूले देशभर बनाएको राजनीतिक र संस्थागत सम्बन्ध सर्लाही–४ को विकासका लागि प्रयोग गर्ने थापाको भनाइ छ। “यो अब मेरो क्षेत्र हो। यहाँको शिक्षा सुधार्नुछ, स्वास्थ्य सेवा बलियो बनाउनुछ, कृषिमा नयाँ सम्भावना खोल्नुछ र सिँचाइका समस्या समाधान गर्नुछ,” उनले भने, “यसका लागि मलाई तपाईंहरूको साथ चाहिन्छ, र म त्यो सबै तागत यहीँ पोख्नेछु।”

आफ्नो राजनीतिक यात्राबारे स्पष्ट धारणा राख्दै थापाले आगामी ८–१० वर्ष सक्रिय राजनीतिमा रहने र यही अवधिमा सर्लाही–४ लाई मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये उत्कृष्ट बनाउने दाबी गरे। “मेरो यात्रा भर्खर सुरु हुँदैछ,” उनले भने, “कांग्रेसको महामन्त्री बनेको छु, अधिवेशन हुँदैछ, फेरि सभापति बन्ने लक्ष्य पनि छ। त्यसैले मेरो ध्यान दीर्घकालीन काममा केन्द्रित छ।”

थापाले क्षेत्रगत विकासलाई योजनाबद्ध ढंगले अघि बढाउन विभिन्न विषयगत टिम परिचालन गरिएको जानकारी पनि दिए। शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ र सूचना प्रविधिका छुट्टाछुट्टै टिमले सर्लाही–४ का समस्या र सम्भावनाबारे स्थलगत अध्ययन गरिरहेको उनले बताए। “कृषि टिमले ५–६ दिन यहाँ बसेर अध्ययन गरिसकेको छ। उनीहरूले दिने प्रतिवेदनकै आधारमा आगामी पाँच वर्षको कार्ययोजना बनाइनेछ,” थापाले भने।

नियमित रूपमा निर्वाचन क्षेत्रमा उपस्थित भएर स्थानीय कार्यालयमार्फत कामको अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले विकासलाई नारामा होइन, परिणाममा बदल्ने लक्ष्य लिएको स्पष्ट पारे।

सम्बन्धित समाचारसबै