सिरहा–४ मा चुनावी नारा छायाँमा, मतदाताको मूल एजेन्डा बनेको छ खानेपानी

0 Shares

सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारहरूको चहलपहल बढेको छ। घरदैलो, सामूहिक छलफल र भेटघाटमा व्यस्त उम्मेदवारहरूले मतदातालाई आफ्ना नारा र प्रतिबद्धता सुनाइरहेका छन्। तर, गाउँ, बस्तीमा पुग्दा चुनावी भाषणभन्दा गहिरो एउटा साझा पीडा देखिन्छ खानेपानी संकट।

पूर्व–पश्चिम राजमार्ग आसपासका बस्तीदेखि भित्री गाउँसम्म पुग्दा मतदाताको प्राथमिकता स्पष्ट देखिन्छ। धारामा पानी आउँदैन, खोल्सा–कुवा सुक्दै गएका छन्, ट्युबेलले पनि साथ छाडेका छन्। यस्तो अवस्थामा शिक्षा, रोजगारी वा ठूला विकासका नारा स्थानीयका लागि दोस्रो दर्जामा पुगेका छन्। अहिलेको सवाल एउटै छ पानी।

स्थानीय सुरेन्द्रप्रसाद महतोका अनुसार चुनाव त धेरै आए, नेताका आश्वासन पनि कम भएनन्। “किसानले सिँचाइ, मल र उत्पादनको मूल्यका लागि पहिल्यै संघर्ष गरिरहेको थियो,” उनी भन्छन्, “अब त पानीकै अभावले जीवन झन् कष्टकर बनेको छ।”
यो समस्या केवल किसानसम्म सीमित छैन। पशुपालन, घरधन्दा र दैनिकी सबै प्रभावित भएको छ।

सबैभन्दा ठूलो मार भने महिलाले खेपिरहेका छन्। स्थानीय दुलारी दासको पीडा सरल तर गहिरो छ। “राजनीति बुझ्नुपरेको छैन,” उनी भन्छिन्, “घरमै पानी आएको भए पुग्थ्यो।” छिमेकीसँग माग्न जाँदा पनि गाली खानुपर्ने अवस्था रहेको उनी सुनाउँछिन्।

जनप्रतिनिधि समस्याबारे जानकार हुँदाहुँदै पनि बेवास्ता गरिएको स्थानीयको गुनासो छ। बलबहादुर कार्की भन्छन्, “हामीले विकास गर्ने नेता नै पाएनौं। थाहा पाएर पनि केही नगर्नेहरू आए।”
यसले मतदातामा गहिरो अविश्वास जन्माएको छ।

पुराना र नयाँ उम्मेदवारबीच कसलाई विश्वास गर्ने भन्ने अन्योल अझै हटेको छैन। राजिन्द्र दास भन्छन्, “पुरानाले अहिलेसम्म केही गरेनन्। नयाँलाई मौका दिऊँ भने, यिनले पनि कुरा मात्रै गर्छन् कि भन्ने डर छ।”
त्यसैले मतदाता अहिले वाचा होइन, काम गर्ने क्षमता तौलिरहेका छन्।

शंकरलाल तामाङका लागि त चुनावको मापदण्ड नै स्पष्ट छ। “पानी चाहियो। कुरा होइन, काम गर्ने नेता चाहियो,” उनी भन्छन्, “भ्रष्टाचारमुक्त र जनताको पीडा बुझ्ने प्रतिनिधि भए पुग्छ।”

सिरहा–४ मा पाँच पूर्वमन्त्रीसहित दल र स्वतन्त्र गरी ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सबै गाउँगाउँ पुगिरहेका छन्, आश्वासन बाँडिरहेका छन्। तर मतदाता हतारिएका छैनन्।

२१ फागुन अझै टाढा छ। तर, पानीबिनाको दैनिकी भने आजैको पीडा हो। यही पीडाले यहाँको चुनावी बहसको दिशा तय गरिरहेको छ ।  मतदाता पानी ल्याउन सक्ने नेता खोजिरहेका छन्।

सम्बन्धित समाचारसबै