जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा सुरक्षा चुनौती उच्च देखिएको छ। प्रदेशभर रहेका कुल २ हजार १६० मतदानस्थलमध्ये १ हजार २४६ वटा मतदानस्थललाई ‘अतिसंवेदनशील’ श्रेणीमा राखिएको मधेस प्रदेश प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल उच्च जोखिममा परेका छन्। सीमा क्षेत्रको खुलापन, आवतजावत र अघिल्ला निर्वाचनका अनुभवलाई आधार मानेर यस्तो वर्गीकरण गरिएको हो। यी मतदानस्थलमा विशेष निगरानी, सुरक्षा जनशक्ति परिचालन र समन्वयात्मक अनुगमन योजना बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले जानकारी दिए।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये ७५५ मतदानस्थल ‘संवेदनशील’ र १५९ मतदानस्थल ‘सामान्य’ रहेको विवरण सार्वजनिक गरेको छ। प्रदेशभर ४ हजार ४७१ मतदान केन्द्र सञ्चालनमा रहनेछन्।
निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी १ हजार २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदान व्यवस्थापन र सुरक्षाका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र स्थानीय प्रशासनबीच समन्वय बढाइएको जनाइएको छ।
मतदाता विवरणअनुसार मधेस प्रदेशमा कुल ३५ लाख १७ हजार १२३ मतदाता रहेका छन्। तीमध्ये १९ लाख ५ हजार ८१९ पुरुष र १६ लाख ११ हजार ३०४ महिला मतदाता छन्। सुरक्षा संवेदनशीलता उच्च रहेकाले यस निर्वाचनलाई मधेस प्रदेशमा कडा निगरानी र विशेष सुरक्षा व्यवस्थासहित सम्पन्न गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ।