आचारसंहिता उल्लङ्घनमा आयोग कडा, २१ जनासँग स्पष्टीकरण

0 Shares

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन भएको भन्दै २१ वटा स्पष्टीकरण सोधेको छ। आयोगले माघ ५ गतेदेखि लागू निर्वाचन आचारसंहिता २०८२ को पालना नगरेको आरोपमा उम्मेदवार, व्यक्ति, संस्था तथा पदाधिकारीहरूसँग स्पष्टीकरण माग गरिएको जनाएको छ।

बिहीबार जारी प्रेस विज्ञप्तिमा आयोगले हालसम्म सोधिएका २१ स्पष्टीकरणमध्ये पाँच वटाको मात्र जवाफ प्राप्त भएको जानकारी दिएको छ। बाँकी स्पष्टीकरणको जवाफका लागि सम्बन्धित पक्षलाई ताकेता भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। उनका अनुसार सबै निर्वाचन क्षेत्रका लागि आचारसंहिता अनुगमन अधिकृत तोकिसकिएको छ र निगरानीलाई थप कडा बनाइएको छ।

निर्वाचनलाई मर्यादित र स्वच्छ बनाउन आयोगले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने मिथ्या, भ्रामक तथा घृणास्पद सामग्रीको निगरानी पनि तीव्र पारेको छ। यसका लागि स्थापना गरिएको ‘निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र’ अन्तर्गतको सूचना सदाचार प्रवर्द्धन इकाईले हालसम्म ३०२ वटा हानिकारक सामग्री पहिचान गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार ती सामग्रीहरू विद्युतीय कारोबार ऐन र प्रेस काउन्सिल ऐन बमोजिम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ। निर्वाचन प्रक्रियामा अनुशासन कायम राख्न आयोगले आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।

सम्बन्धित समाचारसबै