चुनावी सुरक्षाका लागि नेपाली सेनाको व्यापक तयारी, पाँच सहरमा हवाई गस्ती बेस

0 Shares

काठमाडौँ । आउँदो निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले सुरक्षा रणनीतिलाई थप मजबुत बनाउने भएको छ। सेनाले चुनाव अवधिभर हवाई गस्ती प्रभावकारी बनाउन काठमाडौँ, पोखरा, सुर्खेत, विराटनगर र इटहरीमा हवाई सुरक्षा बेस स्थापना गर्ने निर्णय गरेको हो।

नेपाली सेनाका अनुसार ती स्थानमा तैनाथ गरिएका हेलिकोप्टरहरू आवश्यक परेमा देशका जुनसुकै क्षेत्रमा तत्काल परिचालन गरिनेछ। एकीकृत सुरक्षा योजनाअन्तर्गत यस पटक निर्वाचन सुरक्षामा ७८ हजारभन्दा बढी सैनिक परिचालित हुनेछन्।

योजनाअनुसार मतदानका दिन प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्थाको तेस्रो घेरामा नेपाली सेना रहनेछ। यसअघि गएको मङ्सिरमा राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका थिए।

सेनाले निर्वाचनपूर्व तय गरिएका जिम्मेवारीअनुसार प्रशासन र सुरक्षा निकायसँग संयुक्त तालिम तथा अभ्यास सम्पन्न गरिसकेको जनाएको छ। हाल मतपत्र छपाइ भइरहेको स्थानमा पनि नेपाली सेनाले सुरक्षा दिइरहेको छ।

सबै मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरिसकिएको जानकारी दिँदै सेनाले स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मिलेर निर्वाचन सुरक्षामा केन्द्रित अभ्यास गरिएको जनाएको छ।

हाल विमानस्थल र कारागारको सुरक्षा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सम्हाल्दै आएका छन्। तर निर्वाचन सुरु हुनुभन्दा एक महिनाअघिदेखि ती स्थानको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिनेछ, जसले अन्य सुरक्षा निकायका जनशक्ति प्रत्यक्ष चुनावी सुरक्षामा परिचालन हुन सक्नेछन्।

मतदानको दिन मात्र होइन, मतपेटिका संकलन, ढुवानी तथा मतगणनास्थलको सुरक्षामा पनि नेपाली सेना तेस्रो घेरामा रहनेछ। मुख्य निर्वाचन अधिकृतसँग समन्वय गरेर परिस्थितिको मूल्याङ्कनअनुसार जिम्मेवारी निर्वाह गरिने नेपाली सेनाले जनाएको छ।

सम्बन्धित समाचारसबै