मतदाता सचेतनाका लागि मतपत्र नमूना वितरण सुरु

0 Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशभर प्रयोग हुने मतपत्रका नमूना सार्वजनिक गरेको छ । आयोगले सातै प्रदेशअन्तर्गतका जिल्ला तथा निर्वाचन क्षेत्रअनुसार फरक–फरक ढाँचाका मतपत्र तयार गरिएको जानकारी दिएको हो ।

आयोगका अनुसार एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाका लागि एक किसिमको मतपत्र र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि छुट्टै ढाँचाको मतपत्र तयार गरिएको छ । त्यस्तै, उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार पनि फरक हुने स्पष्ट पारिएको छ ।

उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा प्रयोग हुने मतपत्र आकारमा ठूलो हुने र उम्मेदवार कम भएका क्षेत्रमा सानो आकारको मतपत्र प्रयोग गरिने आयोगले जनाएको छ । सबैभन्दा बढी निर्वाचन क्षेत्र र उम्मेदवार रहेको काठमाडौँ जिल्लामा प्रयोग हुने मतपत्र आकारमा ठूलो हुने बताइएको छ ।

कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा एक–एक मात्र निर्वाचन क्षेत्र रहेको छ भने दैलेख र सुर्खेतमा दुई–दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । ती जिल्लाका वास्तविक मतपत्र नमूना समेत आयोगले सार्वजनिक गरिसकेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एक–एक निर्वाचन क्षेत्र छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेको आयोगले जनाएको छ । ती सबै निर्वाचन क्षेत्रका मतपत्र नमूना पनि सार्वजनिक भइसकेका छन् ।

आयोगका अनुसार अन्य जिल्लाका वास्तविक मतपत्र नमूना क्रमशः सार्वजनिक गरिँदै जानेछ । हाल जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र भने छपाइ सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ ।

यसैबीच, मतदाता सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाका नमूना मतपत्र तयार गरी मतदान केन्द्रसम्म पुर्‍याउने काम पनि अघि बढाइएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचारसबै