सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी क्षमताको विद्युत् प्रसारण लाइन आजदेखि परीक्षणमा प्रवेश गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सुर्खेतको सुब्बाकुना सबस्टेशनसम्म विद्युत् प्रवाह गरि परीक्षण गरिने जानकारी दिएको छ।
प्रसारण लाइन राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिन लागेपछि बाँके, बर्दिया र सुर्खेत रुटमा परीक्षण सम्पन्न भएपछि लाइन नियमित सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ।
सुरक्षा सम्बन्धी सचेतनामाअन्तर्गत प्राधिकरणले जनता र स्थानियलाई टावरमा नचढ्न, कुनै वस्तु नछुन, टावर वरिपरि नजान र गाईवस्तुलाई नजिक नगर्न अनुरोध गरेको छ। साथै बालबालिकालाई पनि टावर नछुन र नजिक नजान सचेत गराइएको छ। परीक्षणको क्रममा कहीं पनि भिल्का वा अन्य खतरा देखिएमा नजिकको प्रहरी वा प्राधिकरणमा जानकारी गराउन आग्रह गरिएको छ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर,सुर्खेत,दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको कोहलपुर,सुर्खेत खण्डको निर्माण कार्य सम्पन्न भइसकेको छ। यो लाइन सञ्चालनमा आएपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतसहित अन्य क्षेत्रमा विद्युत् आपूर्ति अनियमितताको समस्या कम हुने अपेक्षा गरिएको छ।