भीड देखिएकोले चुनाव नतिजा तय हुँदैन : शंकर पोखरेल

0 Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तिका पछि देखिने भीड चुनाव नतिजा निर्धारण नगर्ने बताएका छन्।

प्रेस चौतारी नेपालमा पत्रकारहरूसँग कुरा गर्दै उनले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै भने, “डेढ लाख मतदाता भएको ठाउँमा चार–पाँच हजार मान्छे भेला हुँदा भीड देखिन्छ। बाँकी मतदाता त घरमै हुन्छन्। देखिएको भीड नै निर्णायक हो भन्ने हो भने चुनावै किन चाहियो?”

पोखरेलले थपे, “चर्चामा आएको व्यक्ति पहिलोपटक गएर हेर्ने भीड दोस्रोपटक पनि आउँछ कि आउँदैन भन्ने कुरा हो। झापामा बालेन जाँदा त्यही भीड देखिन्छ कि देखिँदैन, हेर्नुहोस्।”

उनी काठमाडौंमा रास्वपाको प्रभाव सीमित रहेको पनि औँल्याए। “जहाँबाट रास्वपा जन्मियो, त्यही काठमाडौंमा उनी प्रतिस्पर्धामा छैनन्। ग्रामीण क्षेत्रमा केही बढेको देखिन्छ, तर चुनाव जित्ने हैसियतमा पुग्छ भन्ने हाम्रो आकलन छैन,” पोखरेलले भने।

झापा–५ मा एमाले सुरक्षित

झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन्। बालेन पनि त्यहाँबाट उम्मेदवारी दिएका छन्। पोखरेलले दाबी गरे, “झापा–५ का जनता राजनीतिक रूपमा अत्यन्त जागरूक छन्। पपुलिज्मको भरमा नतिजा तलमाथि पार्छन् भन्ने मलाई लाग्दैन। हामी त्यहाँ सुरक्षित अवस्थामा छौँ, कुनै जोखिम छैन।”

उनले चुनावमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुने बताए। कांग्रेसका मतदाता ‘साइलेन्ट मतदाता’ हुने हुँदा प्रचार कम देखिँदा पनि मत कम भएको ठान्नु गलत हुने उनको भनाइ थियो।

सम्बन्धित समाचारसबै