शहीदको बलिदानपछि पनि राज्य जनताको बन्न सकेन : बालेन शाह

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राणा शासनविरुद्ध बलिदान दिएका शहीदको सम्झनामा राज्यको चरित्र अझै नफेरिएको टिप्पणी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राणा सरकारले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका हुन्।

बालेनका अनुसार ती शहीदको बलिदानपछि एक दशक नपुग्दै राणा शासन अन्त्य भए पनि राज्य जनताको पक्षमा उभिन नसकेको यथार्थ अझै कायम छ। “८५ वर्षमा पटक पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन,” उनले लेखेका छन्, “जनताले निरन्तर संघर्ष गरे, धेरैपटक शहीद भए, तर शहीदका सपना अझै अधुरा छन्।”

उनले पछिल्लो समय देखिएको भदौको ‘जेन–जी आन्दोलन’को सन्दर्भ पनि उठाएका छन्। सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले ज्यान गुमाउनुपरेकोप्रति उनले गहिरो दुःख व्यक्त गरेका छन्।

अब शहीदका सपना साकार पार्ने जिम्मेवारी वर्तमान पुस्ताको काँधमा आएको बालेनको भनाइ छ। भ्रष्टाचार अन्त्य गर्दै सुशासन स्थापना गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै उनले नेपाललाई आर्थिक रूपमा सबल मुलुक बनाउने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।

त्यसैगरी, राज्यका निकायमा मौलाएको दलीयकरणको अन्त्य गर्दै राज्यलाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने उनको जोड छ। “यी शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब कसैलाई छैन,” उनले उल्लेख गरेका छन्।

शहीद दिवसको अवसरमा बालेनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्न सबैलाई आह्वान समेत गरेका छन्।

सम्बन्धित समाचारसबै