क्यानडाली विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

0 Shares

काठमाण्डाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिकामा बिक्री हुने विमानमा ५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका छन्।

क्यानडाले अमेरिकाको जर्जिया राज्यमा रहेको गल्फस्ट्रीम एयरोस्पेसका जेट विमानलाई प्रमाणीकरण गर्न अस्वीकार गरेको आरोप लगाउँदै ट्रम्पले बदला स्वरूप यस्तो कदम चाल्न सकिने बताएका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार ट्रम्पले सामाजिक सञ्जालमार्फत क्यानडालाई आफ्नो निर्णय तत्काल सच्याउन आग्रह गरेका छन्।

उनले क्यानडाले अडान कायम राखेमा अमेरिकामा बिक्री हुने सबै क्यानडाली विमानमा उच्च कर लगाइने उल्लेख गरेका छन्। साथै, क्यानडाली कम्पनी बोम्बार्डियरका ग्लोबल एक्सप्रेस व्यापारिक जेटहरूको प्रमाणपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको दाबी पनि गरेका छन्।

उड्डयन विश्लेषण कम्पनी सिरियमका अनुसार हाल अमेरिकामा दर्ता भएर सञ्चालनमा रहेका करिब १५० वटा ग्लोबल एक्सप्रेस विमान छन्।

यो विवाद नयाँ भने होइन। सन् २०१७ मा पहिलो ट्रम्प प्रशासनको समयमा अमेरिकी वाणिज्य मन्त्रालयले बोम्बार्डियरमाथि अनुचित सरकारी अनुदान पाएको आरोप लगाउँदै शुल्क लगाएको थियो। तर पछि अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले क्यानडाली कम्पनीका गतिविधिले अमेरिकी उड्डयन उद्योगलाई क्षति नपुर्‍याएको ठहर गरेको थियो।

सम्बन्धित समाचारसबै