बालेन शाहको घरमा चोरी

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को मण्डिखाटारस्थित निजी निवासमा चोरी भएको पुष्टि भएको छ। घरधनी दम्पती बाहिर रहेको मौका छोपी अज्ञात समूहले निवासमा प्रवेश गरी बहुमूल्य सामान लुटपाट गरेको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ नियमित रेखदेखका लागि शाहका आफन्त घर पुगेपछि चोरीको घटना सार्वजनिक भएको हो। घरको बत्ती बाल्ने र बिरुवामा पानी हाल्ने जिम्मेवारी पाएका उनी निवासमा पुग्दा मुख्य ढोका फोडिएको अवस्थामा फेला परेको स्रोतले जनाएको छ। घरभित्र प्रवेश गर्दा सामानहरू अस्तव्यस्त अवस्थामा देखिएपछि तत्काल प्रहरीलाई जानकारी गराइएको थियो।

प्रहरीका अनुसार चोरी योजनाबद्ध र ‘प्रोफेसनल’ ढंगले गरिएको देखिन्छ। चोरहरूले आफ्नो पहिचान लुकाउन घरमा जडान गरिएका २–३ वटा सिसीटिभी क्यामेरा र डीभीआर मेसिनसमेत उखेलेर लगेका छन्। यस्तै, बाथरुम र भान्सामा जडान गरिएका महँगा धाराका टुटीहरू समेत चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अन्य हराएका सामानहरूको विस्तृत विवरण संकलनको क्रममा रहेको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली परिचालन गरिएको जानकारी दिए। अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र महाराजगञ्ज प्रहरी वृत्तको संयुक्त टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका हुन्। माघ १४ गतेदेखि १७ गते साँझको समयभित्र चोरी भएको हुनसक्ने अनुमान गरिएको छ। हाल घटनास्थलको मुचुल्का उठाउने काम सम्पन्न भइसकेको छ भने प्राविधिक विश्लेषण र शंकास्पद व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै