रास्वपा संघीयताविरोधी हो, मधेशबाट हराउनुपर्छ : सिके राउत

0 Shares

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संघीयताविरोधी शक्ति ठहर गर्दै मधेशमा पराजित हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले रास्वपाको राजनीतिक लाइन नै मधेशविरोधी रहेको दाबी गर्दै त्यसविरुद्ध एकजुट हुन मधेशी जनतालाई आह्वानसमेत गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका राउतले निर्वाचनको मुखमा कुनै एक नेताले दिएको अभिव्यक्तिले पार्टीको वास्तविक नीति नबदलिने उल्लेख गरेका छन्। उनका अनुसार पार्टीको दिशा केन्द्रीय समिति र संसदीय दलबाट पारित नीतिले निर्धारण गर्ने हो, व्यक्तिगत भनाइले होइन।

राउतले रास्वपाको पराजय नै मधेशी शहीदप्रतिको साँचो सम्मान हुने तर्क अघि सारे। उनका शब्दमा, “संघीयता खारेज गर्ने एजेन्डा रास्वपाले निरन्तर बोकेको छ, यो पार्टीको औपचारिक निर्णयबाटै पुष्टि भएको विषय हो। त्यसैले मधेशले संघीयताविरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नु नै शहीदप्रति सम्मान हुनेछ।”

राजनीतिक विश्लेषकहरूका अनुसार राउतको पछिल्लो अभिव्यक्ति रास्वपाप्रति बढ्दो दूरीको संकेत हो। यसअघि सत्ता गठबन्धनमा रहँदा उनले रास्वपाका सभापति रवि लामिछानेमाथि अन्याय भएको भन्दै सहानुभूति जनाउँदै आएका थिए। तर बालेन्द्र शाह (बालेन)को राजनीतिक सक्रियता बढेसँगै राउतको धारणा थप आक्रामक बन्दै गएको देखिन्छ।

सम्बन्धित समाचारसबै