निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा निर्वाचनका मतपत्रको नमूना सार्वजनिक

0 Shares

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ। सातवटै प्रदेशका सबै निर्वाचन क्षेत्र समेटिने गरी आयोगले मतपत्रको नमूना सार्वजनिक गरेको हो, जसलाई मतदाता शिक्षाका लागि प्रयोग गरिनेछ।

आयोगका अनुसार एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाका लागि फरक–फरक प्रकारका मतपत्रको नमूना तयार गरिएको छ। उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको आकार फरक–फरक राखिएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा तुलनात्मक रूपमा ठूलो आकारको र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र तयार पारिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारको सङ्ख्या र निर्वाचन क्षेत्रको अवस्थाअनुसार नमूना मतपत्र तयार गरिएको जानकारी दिए। उनका अनुसार यी नमूना मतपत्र मतदातालाई मतदान प्रक्रियाबारे जानकारी दिन सहयोगी हुनेछन्।

कर्णाली प्रदेशमा सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एक–एक निर्वाचन क्षेत्र छन् भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र कायम छन्। ती सबै जिल्लाका मतपत्रको नमूना आयोगले सार्वजनिक गरेको छ।

यसैगरी सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एक–एक निर्वाचन क्षेत्र रहेका छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र कायम छन्। यी सबै निर्वाचन क्षेत्रका मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको हो।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्रको छपाइ कार्य भने पूरा भइसकेको छ। रासस

सम्बन्धित समाचारसबै