काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निष्पक्ष निर्वाचन भए आफ्नो दल पहिलो ठूलो पार्टी बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले चुनाव जित्ने लक्ष्य नभएर समाजवादको मोडेल निर्माणका लागि रुकुम पूर्व पुगेको बताएका छन्।
प्रचण्डले भने, “स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा निर्वाचन भए नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ। देश हाम्रो भनाइअनुसार अघि बढिरहेको छ। म समानुपातिकतर्फ नयाँ पार्टीको प्रभावको कुरा त भन्न सक्दिनँ, तर प्रत्यक्ष निर्वाचनमा हामी अग्रस्थानमा हुनेछौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहनत गर्यौँ भने नेकपा पहिलो नम्बर पार्टी बन्न सक्छ।”
उनी निर्वाचनको माहोलमा नकारात्मक प्रचार भइरहेकामा चिन्ता व्यक्त गर्दै भने, “एकथरी मानिसले अनेक बहानामा निर्वाचन हुँदैन भन्छन् भने अर्काले निर्वाचनलाई कब्जा गर्न खोजिरहेका छन्।”
प्रचण्डले रोजगार र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिँदै जडीबुटी उत्पादन, पर्यटन प्रवद्र्धन, अर्गानिक कृषि र आधुनिक भेडापालनमार्फत हजारौं युवालाई स्वदेशमै रोजगारी दिने प्रतिवद्धता व्यक्त गरे। उनले रुकुम पूर्वबाट विकास, उत्पादन र रोजगारीको नयाँ मोडेल स्थापना गर्ने योजना समेत सार्वजनिक गरे। “उत्पादनमुखी अर्थतन्त्र नै समाजवादको वास्तविक आधार हुनेछ। यही समाजवादको आधार तयार पार्न म रुकुम पूर्व पुगेको हुँ,” प्रचण्डले भने।