चालिसेको चेतावनी: भरोसायोग्य नेतृत्व नभए देश सोमालिया जस्तो हुनेछ

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशको नेतृत्वभरि भरोसायोग्य पार्टी र व्यक्तिलाई सुम्पिन नसके देश ‘प्रयोगशाला’ जस्तो अराजकतामा पुग्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पार्टी कहिल्यै पुरानो नहुने र नयाँ अनुहार तथा नीति लिएर अघि बढिरहेको बताए।

चालिसेका अनुसार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ वटामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। उनले अहिले सबैले उत्तेजनामा नआई भरपर्दो भविष्यको पक्षमा निर्णय लिनुपर्नेमा जोड दिए।

“देशभर भरोसायोग्य मानिस र पार्टीको हातमा देश सुम्पिन नसके अराजकता फैलिएला, प्रयोगशालातर्फ जान सकिन्छ, सोमालियाजस्तो अवस्था हुन सक्छ,” उनले भने। चालिसेले शंका र उत्तेजनाको भरमा कुनै कुरा मन नपरेको कारणले आफ्नो भविष्य खाल्डोमा हाल्न नहुने स्पष्ट पारे।

उनले हरेक नागरिक अहिले देशप्रति माया देखाउने बेला आएको भन्दै विवेक र संयमपूर्वक निर्णय लिनुपर्नेमा जोड दिए। चालिसेले कांग्रेसले जनतालाई वास्तविक मालिक बनाउने प्रणालीमार्फत अघि बढ्ने प्रतिबद्धता दोहोर्याए।

सम्बन्धित समाचारसबै