काठमाडौं । नेकपा (एमाले)का सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीको माध्यमबाट सत्ता परिवर्तन गर्न खोज्ने प्रवृत्तिले मुलुकलाई गम्भीर संकटतर्फ लैजान सक्ने चेतावनी दिएका छन्।
शनिबार एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा बोल्दै उनले यस्ता गतिविधिले नेपाललाई युक्रेनजस्तै अस्थिर र संकटपूर्ण अवस्थामा पुर्याउन सक्ने खतरा औँल्याए।
डा. भट्टराईले विभिन्न भ्रम, आरोप र लाञ्छना फैलाएर जनतालाई अलमलमा पार्ने प्रयास भइरहे पनि मतदाता सचेत रहनुपर्ने बताए। उनले देशको भविष्य सुरक्षित राख्न विवेकपूर्ण र जिम्मेवार मतदान आवश्यक रहेकोमा जोड दिए।
उनका अनुसार २१औँ शताब्दीको वर्तमान समयमा पनि हिंसाको बाटोबाट शासन व्यवस्थामा पुग्ने सोच लोकतन्त्र र राष्ट्र दुवैका लागि खतरनाक छ। उनले युवापुस्ता र भ्रममा पारिएका नागरिकलाई सही दिशा देखाउन नसके मुलुकको भविष्य नै जोखिममा पर्न सक्ने उल्लेख गरे।