काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई देश बनाउने र देश जलाउने शक्तिबीचको निर्णायक प्रतिस्पर्धा भएको बताएका छन्। आफू र आफ्नो पार्टीलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै उनले कुनै पनि सिटमा देश हार्न नहुने धारणा राखे।
शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने,“यो चुनाव जित्ने–हार्ने मात्र होइन, देशलाई जिताउने कि हराउने भन्ने प्रश्न हो। १६५ मध्ये एउटै सिटमा पनि देश हार्न हुँदैन।”
ओलीले झापा क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धीप्रति इङ्गित गर्दै नाम नलिई कटाक्ष गरे। उनले राजनीतिक संगठन, विचार र उद्देश्यबिनै मैदानमा उत्रिएको भन्दै ‘बतासे राजनीति’को संज्ञा दिए।
“अण्डा दुई किसिमका हुन्छन्– एउटा साँच्चैको, अर्को बतासे। बतासे अण्डाबाट चल्ला निस्किँदैन,” उनले भने।
उनले संगठन र विचार नभएका शक्तिहरू अस्थायी हुने दाबी गर्दै तोडफोड, आगजनी र अराजकतामै रमाउने प्रवृत्तिलाई क्रान्तिका नाममा महिमामण्डन गरिएको आरोप लगाए। ओलीले यस्ता गतिविधिप्रति जनतालाई सचेत रहन आग्रह गरे।
आफ्नो पार्टीको पक्षमा ओलीले भने, एमाले जनताबीच रहेको, संगठनसहित अघि बढेको र देशको समृद्धि तथा सुरक्षाका लागि प्रतिबद्ध शक्ति हो।
“हामी पनि मोबाइल चलाउँछौं, तर जनताबाट टाढा छैनौं। हामी देश बनाउँछौं, सुरक्षित बनाउँछौं र जनतालाई सुखी बनाउँछौं,” ओलीले भने।
ओलीले एमाले आफ्नो लक्ष्य र गन्तव्यबाट कहिल्यै विचलित नहुने स्पष्ट पार्दै कार्यकर्तालाई चुनावी अभियानमा एकताबद्ध भएर लाग्न निर्देशन दिए।