मिथ्या सूचना र घृणास्पद अभिव्यक्तिमाथि कडा निगरानी

0 Shares

काठमाडौँ । निर्वाचन आचारसंहिताविपरीत फैलाइएका मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद सूचनामाथि कडाइका साथ निगरानी बढाइएको निर्वाचन आयोगले जनाएको छ। गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउने तयारी भइरहेको आयोगले स्पष्ट पारेको छ।

निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत रहेको सूचना सदाचार प्रवर्द्धन एकाईले हालसम्म ३०२ वटा हानिकारक सूचना पहिचान गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइसकेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। ती सामग्री निर्वाचन आचारसंहिता २०८२, विद्युतीय कारोबार ऐन २०६३ तथा प्रेस काउन्सिल ऐन २०४८ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिएको छ। आचारसंहिता उल्लङ्घनका घटनामा राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोध्ने क्रम जारी रहेको आयोगले जनाएको छ।

आचारसंहिता लागू भएयता माघ १४ गतेसम्म २१ वटा स्पष्टीकरण सोधिएकोमा आठ वटाको जवाफ प्राप्त भइसकेको छ भने बाँकीका लागि ताकेता भइरहेको छ। यसबीच, आचारसंहिता पालना गर्न देखाएको सक्रियताका लागि आयोगले सरकारी निकाय, राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र आममतदातालाई धन्यवादसमेत दिएको छ।

निर्वाचन खर्चलाई पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकिएको आयोगले जनाएको छ। साथै, ७७ वटै जिल्लामा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी र कोष नियन्त्रकहरूलाई विशेष जिम्मेवारीसहित अनुगमन अधिकृत तोकिएको छ।

निर्वाचनको मर्यादा र स्वच्छतामा असर पर्ने कुनै पनि गतिविधि भएमा सम्बन्धित निर्वाचन कार्यालय तथा आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले जनाएको छ।

सम्बन्धित समाचारसबै