भद्रपुर (झापा) । देशका सहरी चोकदेखि गाउँका चौतारीसम्म प्रतिनिधिसभा निर्वाचनको चर्चा चुलिँदै गएको छ। सामाजिक सञ्जाल, चिया पसल र जमघटमा ‘यसपालि कसलाई भोट हाल्ने ?’ भन्ने बहस चलिरहँदा राजनीतिक दलका नेता र उम्मेदवारहरू प्रचार सुरु नहुँदै मतदाता भेटघाटमा व्यस्त देखिन्छन्। तर, यही चुनावी माहोलबाट टाढै छ—झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिका।
भारतसँग सिधै जोडिएको झापा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको कचनकवलका धेरै बस्तीमा चुनाव नजिकिँदै गर्दा पनि उम्मेदवारको उपस्थिति देखिएको छैन। स्थानीयलाई निर्वाचन हुँदैछ भन्ने जानकारी त छ, तर ‘आफ्नै क्षेत्रबाट को–को उम्मेदवार छन्’ भन्ने विषयमै अन्योल कायमै छ।
कचनकवल गाउँपालिका–५ का पूर्णकुमार गणेश भन्छन्, “समाचार र मोबाइलबाट चुनावको कुरा त थाहा हुन्छ, तर यहाँबाट को उम्मेदवार उठेका छन् भन्ने थाहा छैन। पहिलेका नेताको नाम सम्झना छ, तर यसपालि नयाँ को आउँदैछन्, जानकारी छैन।”
उनका अनुसार अहिलेसम्म न त ठूला दलका उम्मेदवार पुगेका छन्, न त स्वतन्त्र उम्मेदवार नै। “भोट माग्न चुनाव नजिकिँदा आउँलान् भन्ने आशा छ,” उनी थप्छन्।
यही गुनासो इद्रिस मियाँ, जमालुद्दिन मियाँ र सोर्जु हजामको पनि छ। उनीहरू भन्छन्—काठमाडौंका नेताले के बोले, कुन दलले के निर्णय गर्यो भन्ने जानकारी रेडियो र सामाजिक सञ्जालबाट पाइन्छ, तर आफ्नै गाउँको उम्मेदवार को हो भन्ने थाहा छैन।
“उम्मेदवार आफैँ नआउँदा हामी कसरी चिन्ने ?” इद्रिस मियाँको प्रश्न छ।
स्थानीयका अनुसार यो अवस्था नयाँ होइन। “चुनावमा मात्रै बाचा गर्छन्, जितेपछि फर्केर हेर्दैनन्,” जमालुद्दिन मियाँ भन्छन्। स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सिँचाइ र रोजगारीजस्ता समस्या वर्षौंदेखि उस्तै रहेको उनीहरूको गुनासो छ।
सीमावर्ती कचनकवलका बस्तीहरू भारतसँग जोडिएका छन्। भारतीय बजारमा दैनिक उपभोग्य सामग्री सस्तो पाइने भए पनि नेपालतर्फ सुविधा अभावले स्थानीय झन् मारमा परेका छन्।
“भारतमा राशन कार्ड, सस्तो खाद्यान्न र उपचार सुविधा छ,” सोर्जु हजाम भन्छन्, “नेपालमा त्यस्तो व्यवस्था नहुँदा गरिब जनता झन् समस्यामा परेका छन्।”
यहाँका मतदाताले उम्मेदवारबाट ठूला भाषणभन्दा पनि दैनिक जीवनसँग जोडिएका यथार्थ समाधानको अपेक्षा गरेका छन्। तर, उम्मेदवार गाउँ नपुगेकाले आफ्ना समस्या कसरी राख्ने भन्ने अन्योल उनीहरूमा देखिन्छ। यद्यपि, केही मतदाता भने प्रचारको समय सुरु भएपछि उम्मेदवार आउने विश्वास व्यक्त गर्छन्।
निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्म औपचारिक प्रचारप्रसारको समय तोकेको छ। आयोगका अनुसार यही अवधिमा मात्र सभा, जुलुस, घरदैलो, पोस्टर–पम्पलेट गर्न पाइनेछ। हाल उम्मेदवारलाई सीमित भेटघाटको अनुमति भए पनि आचारसंहिताले कडाइ गरेको छ।
झापा निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटक १७ उम्मेदवार चुनावी मैदानमा छन्। ठूला दलदेखि साना दल र स्वतन्त्र उम्मेदवारसम्म प्रतिस्पर्धामा रहे पनि सीमावर्ती कचनकवल क्षेत्रमा उनीहरूको प्रभावकारी पहुँच अझै देखिएको छैन। मतदाता शिक्षासम्बन्धी कार्यक्रम पनि सुरु नभएकाले सहभागितामाथि प्रश्न उठ्न थालेको छ। रासस