राष्ट्रपति पौडेल चारदिने जापान भ्रमणमा

0 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चारदिने औपचारिक भ्रमणका लागि आइतबार जापान प्रस्थान गर्दैछन्।

जापान सरकारको निमन्त्रणामा हुने यस भ्रमणमा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति साढे ११ बजे टोकियोतर्फ उड्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

माघ १८ देखि २१ गतेसम्म चल्ने भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। सोही दिन उनले जापानका प्रधानमन्त्री ताकाइची सानेसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछन्।

यसअघि माघ १९ गते राष्ट्रपति पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारद्वारा आयोजना गरिने विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ। उक्त दिन जापानका विदेश राज्यमन्त्री होरी इवाओसँग उनको शिष्टाचार भेट पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदायसँग छलफल गर्ने तथा टोकियोस्थित नेपाली दूतावासले आयोजना गर्ने सम्मान कार्यक्रममा पनि सहभागी हुनेछन्।

राष्ट्रपति पौडेलको जापान भ्रमणमा उनकी धर्मपत्नी सविता पौडेलसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी रहनेछन्। भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम छ।

सम्बन्धित समाचारसबै