काठमाडौँ । ललितपुर जिल्ला क्षेत्र नं ३ बाट नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सन्दन थापामगरले आफू भाषणभन्दा कामलाई प्राथमिकता दिने उम्मेदवार भएको दाबी गर्नुभएको छ। आसन्न निर्वाचनमा विजयी भए संसद्मा पुगेर जिल्लाका लागि नयाँ र दीर्घकालीन योजना अघि बढाउने उहाँको प्रतिबद्धता छ।
दुई दशकदेखि सो क्षेत्रका जनताको सुख–दुःखमा सहभागी हुँदै आएको उल्लेख गर्दै थापामगरले क्षेत्रको आवश्यकता र सम्भावनाबारे आफू गहिरो रूपमा जानकार रहेको बताउनुभयो। “मैले यहाँ २० वर्षदेखि सामाजिक र राजनीतिक काम गर्दै आएको छु। कुन क्षेत्रमा के आवश्यक छ भन्ने कुरा मलाई राम्ररी थाहा छ,” उहाँको भनाइ छ।
थापामगरले आफू लामो समयदेखि सामाजिक कार्यकर्ताका रूपमा सक्रिय रहेकाले पार्टीले पनि त्यही योगदानको मूल्याङ्कन गर्दै उम्मेदवार बनाएको दाबी गर्नुभएको छ। फागुन २१ गते हुने निर्वाचनमा विजय हासिल गरेपछि ‘उत्कृष्ट ललितपुर’ निर्माणको अवधारणा अघि बढाउने उहाँको योजना छ।
आठ पुस्तादेखि ललितपुरमै बसोबास गर्दै आएको पारिवारिक पृष्ठभूमि भएकाले स्थानीय समस्या, संस्कृति र जनभावनासँग आफू चिरपरिचित रहेको उहाँले उल्लेख गर्नुभयो। यस क्षेत्रका मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको दाबी गर्दै थापामगरले आफूजत्तिकै योग्य उम्मेदवारको आवश्यकता यस क्षेत्रलाई रहेको बताउनुभयो।
राजनीतिक यात्रातर्फ हेर्दा, थापामगर वि.सं. २०५९ मा अनेरास्ववियूको संगठित सदस्य बनेका थिए। त्यसपछि २०६५ मा पाटन संयुक्त क्याम्पस स्ववियू सदस्य, २०६९ मा स्ववियू सभापतिको उम्मेदवार, लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला अध्यक्ष तथा महानगर वडा नं २ को जिल्ला इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ।
राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका थापामगरले विकास र शासन प्रणालीबारे औपचारिक ज्ञानसमेत आर्जन गर्नुभएको छ। वि.सं. २०६४ देखि २०८० सम्म निरन्तर रूपमा झम्सिखेल महोत्सव सफलतापूर्वक आयोजना गराएको अनुभव पनि उहाँसँग छ।
खेलकुद, सामाजिक तथा धार्मिक गतिविधि, फोहरमैला व्यवस्थापनजस्ता क्षेत्रमा प्रत्यक्ष संलग्न हुँदै आएको थापामगरले २०६६ सालमा स्वर्गीय गायक अरुण थापा मगरको स्मृतिमा झम्सिखेल चोकमा शालिक अनावरण गराएर देशभर चर्चा बटुल्नुभएको थियो।
सामाजिक सेवामा निरन्तर सक्रिय र अनुशासित व्यक्तित्वका रूपमा चिनिँदै आएका थापामगर ‘ललितपुर मिड टाउन रोटरी क्लब’का सदस्यसमेत रहँदै विभिन्न सामाजिक जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।
स्थानीय मतदाताले “अब पालो तपाईंको हो” भन्ने प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै थापामगर हाल घरदैलो अभियानमार्फत मत माग्न व्यस्त हुनुहुन्छ।
ललितपुर क्षेत्र नं ३ मा ४९ हजार ४११ महिला र ५३ हजार २६ पुरुष गरी कुल १ लाख २ हजार ४३७ मतदाता रहेका छन्। उक्त क्षेत्रमा कुपन्डोल, पाटनढोका, झम्सिखेल, सानेपा, धोवीघाट, सातदोबाटो, हरिसिद्धि, ठैब, सुनाकोठी, थेचो, नख्खु, कुसुन्ती, खोकना, बुङमती र चुनिखेललगायतका क्षेत्र समेटिएका छन्।