काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेकी आशिका तामाङलाई लक्षित गर्दै माओवादीको नाम प्रयोग गरी आर्थिक सहयोग मागिएको पत्र सार्वजनिक भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को लेटरहेड प्रयोग गरी पठाइएको उक्त पत्रमार्फत् पैसा नदिए परिणाम भोग्नुपर्ने आशयको धाकधम्कीसमेत दिइएको छ।
पत्रमा आफूलाई पार्टीको ‘आर्थिक विभाग प्रमुख क. कविर’ उल्लेख गर्दै हस्ताक्षर गरिएको छ। पार्टी सञ्चालन तथा सत्ता र तथाकथित जनमुक्ति सेना परिचालनका लागि आर्थिक सहयोग आवश्यक रहेको भन्दै रकम उपलब्ध गराउन आग्रह गरिएको छ।
माघ १५ गतेको मिति राखिएको पत्रमा ‘परिवर्तनकारी आन्दोलन’को नाममा विशेष आर्थिक अभियान सञ्चालन भइरहेको उल्लेख छ। पत्रमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सशस्त्र जनविद्रोहको मार्ग अपनाइएको दाबी गरिएको छ।
पत्रको अन्त्यमा आन्दोलन सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग गर्न अनुरोध गर्दै सहयोगका लागि धन्यवादसमेत व्यक्त गरिएको छ।
यस घटनाबारे आशिका तामाङ पक्षले गम्भीर ध्यानाकर्षण भएको बताउँदै कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ। माओवादीको नाममा पठाइएको उक्त पत्र वास्तविक पार्टीसँग सम्बन्धित हो वा नक्कली भन्ने विषयमा भने थप अनुसन्धान आवश्यक देखिएको छ।
