माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

0 Shares

काठमाडौँ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ आइतबार हुँदैछ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा यस मुद्दाको पेसी तोकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नेपालमाथिको अनुसन्धान तामेलीमा राख्ने निर्णय गरेको थियो। तर, विशेष अदालतले अनुसन्धान फाइलको सक्कल झिकाउन आदेश दिएपछि फाइल अदालतमा आइपुगेको र त्यसैको आधारमा आजको सुनुवाइ तय भएको हो।

अख्तियारले जेठ २२ गते नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजायको माग गरिएको छ। अख्तियारका अनुसार उनले प्रधानमन्त्री हुँदा पदको दुरुपयोग गरी सरकारी र सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोप लगाइएको छ।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गते पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको थियो। सोही क्रममा ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा उनीसहित ९३ जनाविरुद्ध मुद्दा अघि बढाइएको हो।

सम्बन्धित समाचारसबै